काठमाडौं । धेरैको मनमा सौतेनी आमाबारे नकारात्मक धारणा हुन्छ। तर आफूले नजन्माएका पाँच सन्तान स्याहार्ने बिस्ना ओड अपवाद थिइन्।


ADVERTISEMENT


उदाहरणीय थिइन्। त्यस्ती ममतामयी आमा गुमाएका छन्, नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले। तर, आइडल जितेपछि रविले आमासँग बसेर धीत मर्नेगरी कुराकानी गर्नै नपाई करेन्ट लागेर बिस्नाको निधन भयो।


ADVERTISEMENT

# # #


रविकी जन्मदिने आमाको २०६० सालमा निधन भएको थियो। त्यसबेला उनी मात्र ८ वर्षका थिए। अझ कान्छा भाइ त तीन वर्षका मात्रै थिए। रविका दुई दिदी छन्। जेठी निर्मलाको विवाह भइसकेको छ। रविका जिगर र सानु गरी दुई भाइ छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा धनगढीबाट शिवराज भट्टले लेखेका छन्।

त्यसपछि परिवारमा बिस्ना आइन्। उनले अनेक हण्डर बेहोरेर रविसहित पाँच सन्तान हुर्काइन्। तिनलाई जीवनको बाटो देखाइन्। ‘आमा बित्दा परिवारमा सबै बच्चैबच्चा थिए। सौतेनी आमाले पाँच जना छोराछोरी हुर्काएको देखेर छिमेकी र आफन्त अचम्भित हुन्थे,’ रविका भिनाजु नाता पर्ने पुष्कर सुनारले भने, ‘वास्तवमा उनी सौतेनी होइन, महान आमा हुन्। अहिलको रवि बन्नुको कारण ती आमाको कर्म हो।’

बुधबार देवरको घरमा रहेको नल्कामा पानी निकाल्ने क्रममा बिस्नालाई करेन्ट लाग्यो। उनलाई तत्कालै ५ किलोमिटर टाढा पद्मा अस्पताल पु¥याइयो। त्यो अस्पतालले धनगढीको सेती अञ्चल अस्पताल रेफर गयो।

त्यहाँ पु¥याउँदा चिकित्सकले ४५ वर्षीया बिस्नालाई मृत घोषित गरे। ‘केटाकेटी साना थिए। बिस्ना रोपाइँमा जान्थिन्। खाजामा दिएको रोटी समेत बोकेर केटाकेटीलाई ल्याइदिन्थिन्,’ छिमेकी हरिदेव भट्ट भन्छन्, ‘उनी प्रेरणादायी आमा हुन्।’ बिस्ना अन्तर्मुखी स्वभावको भएको उनले बताए। ‘एकदमै थोरै बोल्थिन्। तर, पाँचै सन्तानले जन्मदिने आमाको भन्दा बढी माया पाए,’ भट्टले भने।

बिस्नाको माइती साबिकको गोदावरी गाविस र अहिलेको अत्तरिया नगरपालिका वडा नम्बर १० मा पर्छ। २३ वर्षको उमेरमा उनले २०६१ सालमा रविका बुबा राजेन्द्रसँग विवाह गरिन्। बिस्नाले आफैँले चाहिँ कुनै सन्तान जन्माइनन्।

घर चलाउन धौधौ थियो। गाउँमै बस्दा त्यत्तिका जहानलाई पाल्न पुग्ने कमाइ राजेन्द्रसँग थिएन। त्यसैले उनी भारतमा मजदूरी गर्छन्। पत्नीको अन्त्येष्टिमा समेत उनी आइपुग्न पाएनन्।

नेपाल आइडलको शीर्ष चारमा परेपछि रवि भोट माग्न गृहप्रदेश आएका थिए। त्यसबेला छोराको स्नेहले भक्कानिएकी बिस्नाको भिडियो आइडलले प्रसारण गरेको थियो। त्यो भिडियो भाइरल बन्यो। बिस्ना र रविका कान्छो भाइ आइडल ग्रान्ड फिनालेका लागि काठमाडौं गएका थिए। ‘आमा र भाइले काठमाडौँ कहिल्यै देखेका थिएनन्। त्यसैले रविले लगेका हुन्,’ पुष्कर भन्छन्।

जनवरी १ देखि रविको वल्र्ड टुर तय भएको छ। उनले आमालाई टुर सकेर मात्र आउने बताएका थिए। ‘अब केही दिन बाहिर देश जान्छु, अनि घर आएर मज्जाले सुखदुःख बाँटौला भनेका थिए दाइले,’ रविका माइला भाइ नरेशले भक्कानिँदै सेती अञ्चल अस्पतालमा भने। आमाले आफूहरुलाई अत्यन्त माया दिएर हुर्काएको उनले बताए।

बुधबार रवि महेन्द्रनगरमा थिए। त्यहीँ उनले आमालाई करेन्ट लागेको खबर सुने। सोमबार उनी गृहजिल्ला फर्केका थिए। धनगढी विमानस्थलदेखि नै उनको भव्य स्वागत गरिएको थियो।

सुदूरपश्चिम सरकारले पनि रविको अभिनन्दन गरेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्ण सुवेदी सहितले मुख्यमन्त्री कार्यालयमै रविको सम्मान गरेका थिए।

सेती अञ्चल अस्पतालमा पोस्टमार्ट पछि बिस्नाको बुधबार नै गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। जेठो छोरा रविले दागबत्ती दिए। आफन्तका अनुसार मुम्बईमा रहेका बुबा दुई दिनपछि मात्र आइपुग्नेछन्। घरबाटै सुरु भएको शवयात्रामा सयौँको सहभागिता थियो।