काठमाडौं– नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न पनि गरे ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै महाप्रबन्धक कंशकारले शेर बहादुर देउवा र डा. बाबुराम भट्टराइले वाइडवडी खरीदबारे नबुझेर नै संसदमा बोलेको दाबी गरेका हुन् । उनले भने, ‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझीकन कसरी बोल्नुभयो ?’


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले एउटा निर्णय दिईसकेको अवस्थामा वाइडबडीबारे बोल्नु राजनीतिक कारण हुनसक्ने उनले शंका व्यक्त गरे । लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनले दाबी गरे । कंशकारले वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पारे ।

उनले भने, ‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’ २ वटा वाईडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उनले सार्वजनिक लेखा समितिले भनेजरी नै खरीद गरिएको दाबी गरे ।

कंशाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजिनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दाबी गर्दै उनले विरोध गर्नेहरुले कुरै नबुझेको बताएका छन् । कंशाकारले प्राविधिक कुरा नबुझि हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव दिएका छन् ।

‘यो खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन । शुन्य कमिशनमा खरिद गरिएको हो’ उनले भने । सर्वोच्च अदालतको आदेशभित्र रहेर विमान खरिद गरिएको दाबी गर्दै उनले संसदको लेखा समितीले पनि ‘क्लिन–चिट’ दिने विश्वास दिलाए । उनले निगमले १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्विकार गरेका थिए । यद्धपी उनले उक्त जहाज ‘ब्राण्ड–न्यू’ भएको पनि दाबी गरे । उनले बिमानको भारहन क्षमता २४२ टनको भएपनि हाल २३० टन मात्रै रहेको पनि स्विकार गरेका छन् ।

वाईड बडी असफल बनाउने तत्वहरु रहेको र त्यसप्रति आफू जानकार रहेको पनि उनले स्पष्ट पारे । यद्धपी उनले कुन–कुन तत्व लागेको हो भनेर नाम भन्न नमिल्ने बताए ।