रत्ननगर– चितवन राष्ट्रिय निकुञ्जको हरियालीबीच बगेको राप्ती नदी । काखैमा रहेको पर्यटकीय गन्तव्य सौराहा । सौराहा दुर्लभ एक सिङ्गे गैँडा, काँडे भ्याकुर र पाटे बाघको बासस्थान हो । यहीँको प्रकृतिसँग रमाउन दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । सौराहा हेर्दा रमणीय र स्वच्छ देखिन्छ तर, प्रदूषण मात्रा पनि यहाँ डरलाग्दो रुपमा बढिरहेको छ ।


ADVERTISEMENT


हालै वन तथा वातावरण मन्त्रालय वातावरण विभागले हावामा धुलो मापन गर्दा देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा क्षेत्र तेस्रो स्थानमा परेको छ । देशभरका १९ ठाउँमा गरेको मापनअनुसार काठमाडौँ पहिलो र लुम्बिनी दोस्रो स्थानमा छन् । विभागका प्रविधि उपसचिव शंकरप्रसाद पौडेलले भने – “हिउँदको समयमा लुम्बिनी जस्तै सौराहामा पनि प्रदूषण देखिएको छ । हावामा धुलोका मसिना कणहरु प्रशस्त पाइएको छ ।”


ADVERTISEMENT

# # #


सौराहा क्षेत्रले चितवन जिल्लाकै प्रतिनिधित्व गर्ने हुनाले पूरै जिल्लाको हावामा अत्यधिक मात्रामा धुलोका कणको उपस्थिति रहेको आकलन गर्न सकिन्छ । “सौराहाको वातावरण सन्तोषजनक छैन, नजीकै वनजङ्गल, उद्योगहरु नभए पनि सौराहा प्रदूषणयुक्त देखियो,” उपसचिव पौडेलले भने – “तराईका जिल्लामा हुने आगलागी, चितवन राष्ट्रिय निकुञ्जमा लाग्ने डढेलोलगायतका कारण सौराहामा प्रदूषण बढी देखिएको हुनु्पर्छ ।”

सन् २०१७ को मापनअनुसार सौराहा क्षेत्रको हावामा वार्षिक औसतमा ९२ दशमलव १ धुलोको कण पाइएको थियो । विभागका अनुसार सौराहा क्षेत्रको वातावरणीय प्रदूषणलाई न्यून गर्न स्थानीय सरकारले उपयुक्त योजना तयार गरी कार्यान्वयनमा लैजान सक्ने वातावरणविद्हरु सुझाउँछन् ।

सौराहासँगै जोडिएको चितवन राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफलको १२ प्रतिशत घाँँसे मैदानमा डढेलो लगाइन्छ । निकुञ्जका अनुसार दुर्लभ एक सिङ्गे गैँडालाई संरक्षण गर्ने उद्देश्यले पौष्टिक आहारयुक्त घाँस उत्पादन गर्न डढेलो लगाउने गरिएको हो । डढेलोले जलवायु परिर्वतनमा प्रतिकूल असर पार्नाका साथै स्थानीय वस्तीहरुमा प्रदूषण फैलाएको छ । यसको असर सौराहामा मात्र नभई पूरै जिल्लाभर फैलिएको छ । वातावरणविद्हरुका अनुसार निकुञ्जले प्रदूषणलाई न्यून गर्न ठूलो भूमिका खेलेको छ । निकुञ्जले प्रदूषणलाई कम नगरेको भए सौराहा आसपासका क्षेत्र मानिस बस्न लायक हुँदैन्थ्यो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सौराहाको हावामा भेटिएको धुलोका कणको तथ्याङ्कले आफूलाई भस्काएको प्रतिक्रिया दिए। उनले भने – “जङ्गलमा डढेलो लाग्छ । खरानी सौराहामा आउँछ । त्यही बेलाको तथ्याङ्क विभागले लिएको हुनुपर्छ ।”

प्रमुख वनले सौराहामा पहिलो जस्तो प्रदूषण नभएको दाबी गरे । उनले भने – “रत्नगर नगरपालिकाले वातावरणमैत्री वडा घोषणा गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्लाष्टिक निषेध छ । सौराहाको वातावरण पवित्र बन्दै गएको छ ।”

प्रमुख वनले लोथरलगायतका खोलामा गाडी धुने गरेका कारणले पनि प्रदूषण बढेको बताए। उनले भने – “अब निश्चित ठाउँमा गाडी धुने व्यवस्था गरिनुपर्छ । जहाँ पायो त्यहीँ, अझ बस्तीको माझमा रहेको खोलामा गाडी धुन रोकिनुपर्छ ।” आफू रत्ननगरलाई ‘ग्रीन सिटी’ बनाउन लागिपरेको जानकारी पनि उनले दिए ।

जङ्गलमा पर्यटकलाई वन्यजन्तु देखाउने नाममा डढेलो लगाउने प्रचलन रोकिनुपर्ने र निकुञ्जका खर तथा झाडीहरुको व्यवस्थित कटानका लागि ‘ग्रास कटिङ’ को व्यवस्था गरिनुपर्ने उनको सुझाव छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली वनमा लागेका डढेलाले सौराहामा प्रदूषण बढाएको ठान्छन् । उनले भने – “वनमा डढेलो होइन, ग्रास कटिङ मेसिन ल्याएर खर र झाडीहरु फालिनुपर्छ ।”

प्रदेश २ का तराईका जिल्लामा भएको प्रदूषणको मार सौराहा क्षेत्रले खेप्नु परेको व्यवसायीहरुको भनाइ छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरे यो समस्यामाथि बेलैमा सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने उनी बताउँछन् । “सौराहा र चितवनकै अस्तित्व जोगाउन जनचेतना फैलाउनुपर्छ,” उनले भने – ‘वायु प्रदूषणका कारक डढेलो नियन्त्रण गर्न वैकल्पिक उपायहरु खोजिनुपर्छ । एक तर्फको संरक्षण गर्दा अर्को तर्फको विनाशमा ध्यान पुग्नुपर्छ ।”

निर्माण कार्यले प्रदूषण बढायो

चितवनको आकाश पछिल्लो समय धुलाम्ये बन्दै गएको छ । यसको मुख्य कारण हो पूर्वाधार निर्माणका गतिविधि । “केही वर्षअघि चितवनको आकाश यस्तो थिएन,” भरतपुर महानगरपालिका–९ का सुजन अधिकारीले भने – “जताततै बाटाको काम भइरहेको छ । सबै धुलो आकाशमा थुप्रिन गएको छ ।”

हिउँदको समय धुलो उड्ने भएकाले माक्सको प्रयोग गर्नै पर्ने अवस्था आएको छ । स्थानीय तहको निर्वाचनपछि चितवनका अधिकाँश सडकहरु अहिले चौडा पार्ने, स्तरोन्नति र कालोपत्र गर्ने कार्य भइरहेका छन् । निर्वाचनका समय मतदाताले सडक निर्माणलाई नै प्राथमिकतामा पारेकाले चितवनका सबै स्थानीय तहले अन्य क्षेत्रको बजेट पनि पूर्वाधार निर्माणमै लगाएका छन् । अहिले पूर्वी र पश्चिम चितवनमा नयाँ कालोपत्र थप्ने काम भइरहेका छ भने भरतपुर महानगरपालिकामा रहेको बाइपास रोड फराकिलो बनाइँदैछ । पछिल्लो समय चितवनमा देखिएको सवारी साधनको तीव्र वृद्धिले ध्वनि र वायु प्रदूषणलाई बढाएको प्रष्ट छ ।

शहरीकरणसँगै ध्वनि प्रदूषण

काठमाडौँको झल्को दिने यातायातको चाप यस जिल्लामा देखिन थालेको छ । नारायणगढको पुल चोक, शहीद चोक र लाइन्स चोकमा बाटो काट्न पनि मुश्किल हुन्छ । सर्वसाधारण जनताले बाटो काट्न आकाशे पुलको आवश्यकता महसुस गर्न थालेका छन् ।

सबै चोकहरुमा सवारी साधनको अत्यधिक चाप भएकै कारण दुई÷तीनजना ट्राफिक प्रहरी खटाइएका छन् । पुल चोकमा सवारी चाप व्यवस्थित गर्न प्रहरीलाई बिहान र बेलुकी दुबै समयमा हम्मेहम्मे परिरहेको दृश्य देख्न सकिन्छ । बढ्दो सवारी साधनसँगै ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालयले भरतपुर चक्रपथ क्षेत्रमा हर्न बजाउन निषेध गरिसकेको छ । भरतपुरको नारायणगढ, केन्द्रीय बसपार्क, आँपटारी हुँदै पुल चोकसम्मको चक्रपथ क्षेत्रमा हर्न बजाउन एक वर्षअघिदेखि प्रतिबन्ध लगाइएको छ । यस क्षेत्रमा आपत्कालीन अवस्थामा मात्र हर्न बजाउन पाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले सवारीको अत्यधिक चापसँगै उत्पन्न ध्वनि प्रदूषणलाई कम गर्न महानगरको चक्रपथमा हर्न बजाउन निषेध गरिएको जानकारी दिए।

“धेरैले अर्काका गाडीलाई नाघेर जान अनावश्यक रुपमा धेरै समयसम्म हर्न बजाएका पायौं,” उनले भने – “ध्वनि प्रदूषण कम गर्न चक्रपथभित्र हर्न बजाउन निषेध गरेका छौं । हर्न बजाए जरिवाना गर्ने प्रावधान लागू गरेका छौं ।” विस २०२२ सालमा चितवनमा बस्ती बस्दा बनेका सडकहरुको अवस्थामा बदलिएको छैन तर, जिल्लामा सडकको अनुपातमा सवारी साधन अकल्पनीय रुपमा बढेका छन् । फलतः ध्वनि प्रदूषण बढ्न पुगेको छ ।

अठहत्तरौँ जिल्लाको रुपमा समेत चिनिने चितवनमा जनघनत्वसँगै सवारी साधन पनि त्यही अनुपातमा वृद्धि हुँदै गएको पाइन्छ । यही कारण चितवनका मुख्य सडकभन्दा पनि भित्री सडकमा दुर्घटनाका घटनाहरु बढेका छन् । बढ्दो शहरीकरणसँगै यहाँ यातायातको व्यवस्थापनमा थप चुनौती सिर्जना भएको छ । सुरेन कुँवर/रासस