काठमाडौँ, ११ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण भेगमा मोबाइल ब्याङकिङ सेवा पुर्याउन  बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्।


ADVERTISEMENT


पुँजीमा पहुँच बढाउँदै नेपालको गरिबी घटाउन क्रियाशील बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागअन्तर्गतको परियोजना ‘सक्षम’ र व्यापारीक प्रतिष्ठान आइएमई समूहको ‘आइएमई डिजिटल’ बीच आज आयोजित मोबाइल ब्याङकिङ सेवासम्बन्धी सम्झौता समारोहमा उनेले त्यस्तो आवश्यकता औँल्याएका हुन् ।


ADVERTISEMENT

# # #


नगदरहित कारोबारले पारदर्शिता सुनिश्चित गर्ने बताउँदै गभर्नरले अनौपचारिक माध्यमबाट हुने कारोबार नियन्त्रणमा समेत मोबाइल ब्याङकिङ प्रणालीले सघाउने वास्तविकता प्रस्ट्याए । उनले सूचना तथा सञ्चार प्रविधिको वर्तमान युगमा विद्युतीय कारोबार सुरक्षित एवम् भरपर्दो हुने भएकाले केन्द्रीय बैंकले त्यसको प्रवद्र्धनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

देशका सम्पूर्ण जिल्लामा पाँच हजार पाँचसय ‘एजेन्ट’ बाट वित्तीय सेवा प्रवाह गर्दै आएको आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र मध्य तथा सुदूरपश्चिमका सबै जिल्लामा सेवारत सक्षम परियोजनाका टोली नेता बलजित बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यस अवसरमा अध्यक्ष ढकालले मुलुकको वित्तीय सेवालाई सबल र सुदृढ तुल्याउन निजी क्षेत्रको प्रतिबद्धता दोहोर्याउँदै त्यसका निम्ति सरकारसँग हातेमालो गरेर अनौपचारिक कारोबार र वित्त प्रवाहलाई निरुत्साहित गर्न आफू दृढ रहेको बताए।