काठमाडौं – नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय बस्नेतले आफ्नो राजनीतिक तथा सांगठनिक अनुभवलाई पार्टीको केन्द्रीय तहमा थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएकी छन्।
बस्नेत पशुपति क्याम्पसकी पूर्व स्ववियु उपसभापति हुन्। उनले नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।
शैक्षिक रूपमा उनले राजनीतिशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छन् भने कानुनमा बीए एलएलबी अध्ययन गरेकी छन्। उनी बागमती प्रदेश योजना आयोगकी पूर्व सदस्यसमेत हुन्।
कांग्रेसभित्र उनको राजनीतिक सक्रियता र सांगठनिक अनुभवलाई आधार बनाउँदै युवा पुस्तामाझ समेत प्रभाव रहेको नेताहरूको दाबी छ।
महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्वमा पुगेर संगठन सुदृढीकरण, युवा सहभागिता तथा आफ्नो राजनीतिक अनुभवलाई थप प्रभावकारी रूपमा उपयोग गर्ने लक्ष्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बस्नेतले बताएकी छन्।
















