काठमाडौँ– काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकामा एउटा व्यक्ति पूर्णरूपमा सुरक्षित रहन हजारौँ क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।


ADVERTISEMENT

# # #


“अहिले तत्काल सम्भव छैन, लामो समयमा पछि उक्त क्यामरा जडान गरे उपत्यका पूर्णरूपमा सुरक्षित हुन्छ”, उनी भन्छन् । एउटा व्यक्ति राज्यको निगरानीमा हरदम रहनका लागि उक्त सिसी क्यामरा चाहिने उनको भनाइ छ ।

कार्यालयले गरेको अध्ययनअनुसार नै सिसी क्यामरा जडान भए उपत्यकामा प्रहरी जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिँदैन । हाल काठमाडौँ उपत्यकामा ५२९ सिसी क्यामरा रहेका छन् । जसमध्ये ४६० क्यामरा चालू अवस्थामा छन् । काठमाडौँमा ४०३, ललितपुरमा ३३ र भक्तपुर २४ क्यामरा रहेका छन् ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहसँग समन्वय गरी तत्काल आवश्यक परेका स्थानमा सिसी क्यामरा जडानको कामसमेत शुरु गरेको छ । उपत्यकामा हाल २१ स्थानीय तह रहेका छन् । हरेक स्थानीय तहमा प्रहरी कार्यालयसमेत स्थापना भइसकेको छ ।

यस्तै, उपत्यकामा हुने अपराधका घटनालाई तत्काल सम्बोधन गर्नका लागि ८१ स्थानमा कन्ट्रोल रुम भेइकल (सिआरभी) भेइकल राखिएको छ । उक्त सिआरभी भेइकलले घटना घट्न नदिन र घटना घटिहाल्यो भने पनि तत्काल घटनास्थलमा पुगेर अनुसन्धान तथा दोषीलाई पक्रने काम गरिरहेको छ ।

कार्यालयका अनुसार काठमाडौँमा ५४, भक्तपुरमा ११ र ललितपुरमा १६ सिआरबी भेइकल राख्ने व्यवस्था गरिए पनि हाल काठमाडौँमा ४५, भक्तपुरमा ११ र ललितपुरमा १५ सिआरभी भेइकल रहेका छन् । काठमाडौँ उपत्यकामा विसं २०६३ देखि सिआरभी भेइकलबाट सुरक्षा दिन थालिएको हो । जनसङ्ख्या वृद्धिसँगै थप ८१ स्थानमा सिआरभी भेइकल थप्नुपर्ने देखिन्छ । कार्यालयले गरेको अध्ययनमा काठमाडौँमा ४९, भक्तपुरमा १० र ललितपुरमा २२ स्थानमा सिआरभी भेइकल आवश्यक देखिएको हो ।

काठमाडौँ उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । त्यसबाहेक कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह उपत्यकाको १८ स्थानबाट प्रहरी कार्यालय थप गर्न माग आएको बताउँछन् । “काठमाडौँ चार, ललितपुर नौ र भक्तपुरबाट चार स्थानमा प्रहरी कार्यालय थप गर्न माग आइरहेको छ”, उनी भन्छन्।

मुख्य शहरलाई केन्द्रित गरेर सुरक्षा योजना बनाए पनि पछिल्लो समय भएको बस्ती विकासका कारण गाउँगाउँमा समेत प्रहरी कार्यालय स्थापना गर्नुपर्ने देखिन्छ । काठमाडौँमा ११ हजार ३१९ प्रहरी अधिकृत तथा जवानको दरबन्दी भए पनि हाल नौ हजार ३९८ कार्यरत रहेको कार्यालयले जनाएको छ । –अच्युत रेग्मी/रासस