काठमाडौँ– सन् २०२० मा अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार उक्त तालिका सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म करिब १ महिनासम्म हुने विश्वकपमा १६ देशले ७ विभिन्न मैदानमा ४५ खेल खेल्नेछन्।  जसका लागि दुई समूह विभाजन गरिएको छ । समूह ‘ए’मा आयोजक राष्ट्र अष्ट्रेलियासँगै डिफेन्डिङ च्याम्पियन वेष्टइण्डिज, पाकिस्तान र न्यूजिल्याण्ड छन् । समूहका बाँकी २ टिम छनोट चरणबाट आउन बाँकी हुनेछ।


ADVERTISEMENT

# # #


यस्तै समूह ‘बी’मा भारत, इंल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन्। यो समूहमा पनि दुई टिम छनोट भएर आउनेछन्। भारत र पाकिस्तान सन् २०११ को विश्वकप पछि पहिलो पटक समह चरणमा एक आपसमा भिड्ने छैनन् । यी दुई टिमले सन् २०११ देखि आइसीसीका पाँच प्रतियोगिताका समूह चरणमा भिडेका थिए ।

सन् २०१८ को डिसेम्बर अन्तिमसम्म आइसीसी वर्ल्ड टी–२० र्याङ्किङको शीर्ष ८ मा रहने टोली सोझै पुपर १२ मा प्रवेश पाएका छन्। जसमा पाकिस्तान, भारत, इग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेस्टइण्डिज र अफगानिस्तान सोझै प्रतियोगिताको टप १२ मा प्रवेश पाएका छन्।

खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ नेपालले विश्वकप पुग्ने बाटो

टी २० विश्वकपमा जम्मा १६ टिमले सहगाभीता जनाउने छन् । आइसीसी वर्ल्ड टी–२० र्याङ्किङका उत्कृष्ट १० देश सिधै विश्वकप खेल्नेछन् । बाँकी ६ टिम यही वर्ष हुने विश्वकप छनोटबाट चुनिएर आउने छन् । त्यसमा नेपालले स्थान बनाउनु पर्ने छ । तर, त्यो भन्दा अघि नेपालले एशिया क्षेत्रको छनोट खेल्नुपर्नेछ ।

एशिया छनोटमा पूर्वी क्षेत्रका ३ र पश्चिम क्षेत्रका ३ गरी ६ टिमले सहभागिता जनाउनेछन् । यसअघि नेपालले एशिया पूर्वी क्षेत्र छनोट विजेताका रुपमा पार गरिसकेको छ । उक्त प्रतियोगिताबाट नेपालसहित मलेसिया र सिंगापुर एशिया छनोटमा पुगेका छन् भने पश्चिम क्षेत्रबाट युएईसहित कुवेत र कतार रहेका छन् । ६ मध्ये नेपाल उत्कृष्ट दुईभित्र अटेमा बल्ल विश्वकप छनोट खेल्न पाउनेछ ।

विश्वकप छनोटमा एशियाबाट दुई, पूर्वी एशिया प्यासिफिकबाट १, अमेरिका क्षेत्रबाट दुई, अफ्रिकाबाट २ र युरोपबाट १ देशगरी ८ वटा टिम हुनेछन् । बाँकी ६ टिम यसअघि सन् २०१५ मा भारतमा भएको टी-२० विश्वकपमा सहभागिता जनाएका टिम हुनेछन् । जसमा स्टकल्याण्ड, जिम्बाब्वे, नेदरल्याण्ड, हङकङ, ओमान र आयरल्याण्ड रहेका छन् ।

१४ टिम सम्मिलित विश्वकप छनोट यही वर्षको अक्टोबरमा हुँदैछ । प्रतियोगिताको उत्कृष्ट ६ टिम २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा सहभागी हुनेछन् ।

भारत, पाकिस्तान लगायतसंग खेल्नका लागि ग्रुपस्टेज पार गर्नुपर्ने

यदि नेपाल विश्वकपमा छनोट भइहाले पनि सिधै भारत, पाकिस्तान लगायत बलिया देशसंग खेल्न भने पाइहाल्ने छैन । त्यसका लागि नेपालले पहिलो चरण पास गर्नुपर्ने छ । पहिलो चरणका लागि दुई समूह विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टिम हुनेछन् । जहाँ सन् २०१८ को डिसेम्बर अन्तिमसम्म आइसीसी वर्ल्ड टी–२० र्याङ्किङमा उत्कृष्ट ८ भित्र नअटाएका श्रीलंका र बंगलादेश पनि रहेका छन् भने बाँकी विश्वकप छनोटबाट आउने छन् । त्यसका लागि श्रीलंकालाई समूह ‘ए’ मा र बंगलादेशलाई समूह ‘बी’मा राखिएको छ ।

प्रत्येक समूहका उत्कृष्ट दुई टिम सुपर १२ मा प्रवेश गर्नेछन् । जहाँ आइसीसी वर्ल्ड टी–२० र्याङ्किङमा उत्कृष्ट ८ मा अटाएका पाकिस्तान, भारत, इङल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तान रहेका छन् । नेपालले भारत पाकिस्तान लगायतका देशसंग खेल्नका लागि आफ्नो समूहको उत्कृष्ट दुईमा पर्नुपर्ने छ ।