काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा अवे मैदानमा रियल मड्रिडले जिरोनालाई ३–१ ले हराउँदै समग्रमा ७–३ को जितसहित अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो लेगमा रियल मड्रिड ४–२ ले विरयी भएको थियो ।


ADVERTISEMENT

# # #


अवे मैदानमा भएको दोस्रो लेगमा जित निकाल्ने क्रममा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई तथा मार्कोस लोरेन्टेले एक गोल गरे । जिरोनाका लागि पेड्रो पोर्रोले एक गोल फर्काए ।

२७ र ४३ औँ मिनेटमा गरी बेन्जिमाले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले २–० को अग्रता लियो । ७१ औँ मिनेटमा पोर्रोले जिरोनाका लागि एक गोल फर्काए । त्यसको पाँच मिनेटपछि लोरेन्टेले गोल गर्दै रियल मड्रिडलाई ३–१ को जित दिलाएका हुन् ।

रियल मड्रिडसहित बार्सिलोना, भ्यालेन्सिया र रियल बेटिस अन्तिम चारमा पुगेका छन् । अन्तिम चारको ड्र शुक्रबार हुँदैछ ।

३१ वर्षका बेन्जिमा रियल मड्रिडको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । सन् २००९ मा लियोनबाट रियल मड्रिड आएका बेन्जिमाले अहिलेसम्म रियल मड्रिडबाट ४४६ खेलमा कूल २०९ गोल गरेका छन् ।

उनले ला लिगामा १३६, च्याम्पियन्स लिगमा ४७, कोपा डेल रेमा २०, क्लब वर्ल्ड कपमा तीन, स्पेनिस सुपर कपमा दुई तथा युरोपियन सुपर कपमा एक गोल गरेका छन् । क्लबको सर्वाधिक गोलकर्ताको सूचिमा ४५१ गोल गरेका क्रिष्टियानो रोनाल्डो शीर्षस्थानमा छन् ।