विनय यादव, सिरहा– सिरहाको मूख्य व्यापारिक नगरीको रुपमा परिचित मिर्चैयामा पहिलोपटक प्रादेशिक औद्योगिक व्यापार मेला तथा महोत्सव हुने भएको छ ।
मिर्चैया उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा प्रदेश २ को सिरहा मिर्चैयामा ‘समृद्ध मिर्चैयाको आधार, कृषि, उद्योग, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ माघ २८ गतेदेखि फागुन ७ गतेसम्म भव्य औद्योगिक मेला हुन लागेको हो ।
यस क्षेत्रको धार्मिक पर्यटकीय स्थलहरुको विकास, मिर्चैया क्षेत्रको उद्योग, व्यापार, पर्यटन, जडिबुटि र कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने उद्देश्यले आयोजना महोत्सव आयोजना गर्न लागिएको छ । ९ दिनसम्म चल्ने औद्योगिक व्यापार मेलामा स्थानीय कला संस्कृति झल्काउने झाँकी, मौलिक भेषभूषा तथा संस्कृतिको प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछन् ।
महोत्सवमा जिल्लाका विभिन्न ठाउँका मौलिक उत्पादनसँगै प्रदेश र देश विदेशमा उत्पादित वस्तुहरुको प्रदर्शन र बिक्रिका लागि १ सय ३१ वटा स्टलहरु रहनेछ । विभिन्न क्षेत्रका रहन सहनसहितको मौलिक खानाको परिकारहरुको विक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रदर्शनी मेलामा गरिनेछ ।
मेलामा जिल्लाको स्थानीय उत्पादन (उद्योग, कृषि, पशुसेवा, विभिन्न बहुमूल्य जडिबुटि, घरेलु उद्योग) आदि कृषिजन्य वस्तुको प्रचारप्रसार, प्रवद्र्धन र बजारिकरणका लागि स्टलहरुमा प्रदर्शनी गरिने मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर साहले जनाए ।
मिर्चैया–६ स्थित थाना चोकदेखि बजार जानेबाटोको खाली कम्पाउन्डमा हुन लागेको महोत्सव अवधि भरिमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुद्धारा संस्कृति जगेर्नात्मक कार्यक्रमहरुको जोडदार प्रदर्शनी गरिनेछ ।
करिब ५० लाख लगानीको उक्त मेलामा अनुमानित ६० लाखको कारोबार हुने आकडा गरिएको छ । मेला प्रवेशका लागि सर्वसाधारणलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुका लागि ३० र अशक्त तथा अपाङ्गका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
माघ २८ गतेबाट सुरु हुने महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ ।
प्रदश २ मै पहिलो पटक हुन लागेको मेलाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको मूख्य गन्तव्यसँगै कृषि, उद्योग, पर्यटन र स्थानीय व्यापार प्रबद्र्धनका लागि मूख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।