काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको अनुसन्धानमा समय लाग्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी रहेको र सरकार गम्भीर रहेको बताए । सांसद डिला संग्रौलाले ‘निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरि मुद्दा किन चलाइएको छैन ? देशभरका हत्या र बलात्कारका शृङ्खला कहिले रोकिन्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


जवाफमा गृहमन्त्री थापाले भने, ‘निर्मला हत्या प्रकरण पासविक थियो । अनुसनधान जारी छ । अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीलाई कारवाही गरेको छ । कुनैपनि अपराधीलाई राज्यले छुट दिँदैन । कानुनको कठघरामा ल्याउँछ । चासो र चिन्ताप्रति सरकार गम्भिर छ ।’

थापाले जवाफ दिए लगत्तै सांसद संग्रौलाले पुनः प्रहरीले घटनास्थलमा प्रमाण नष्ट गरेको विषयमा जिज्ञासा राखेकी थिइन्। ‘शव र कपडाको प्रमाण किन नष्ट गरियो ? हत्यारा बालुवाटार र सिंहदरबारमा छन् कहाँ छन् सत्य तथ्य जवाफ दिनुहोस्’, संग्रौलाले प्रश्न सोधिन्।
‘कुनै अपराधलाई सरकारले तुरून्तै पत्ता लगाउन सक्दैन । समय लिन्छ। यो प्रकरणले पनि समय लिएको छ। सरकार छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउन लागेको छ’ जवाफमा मन्त्री थापाले भने, ‘आक्रोशित मुडमा जहाँसम्म बालुवाटारमा छन् कि सिंहदरबारमा छन् भन्नुभयो, अपराधी जहाँसुकै हुन् कानुनको कठघरामा आउनेछन्।’

यस्तै सांसद गगन थापाले ‘निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे सरकारकै उपप्रधानमन्त्रीले केही महिनाअघि ५ दिनभित्र सार्वजनिक गर्छ भन्नुभएको थियो । त्यसबारे गृहमन्त्रालयको भनाइ के छ ? भनेर प्रश्न गरे ।

जवाफमा गृहमन्त्री थापाले रक्षा मन्त्रीको धारणाबारे ठोस रुपमा जानकारी नभएको बताएका थिए। ‘पाँच वा दश दिन भित्र कानुनको कठघरामा आउँछ भन्नुको सार छिट्टैनै कानुनको कठघरामा ल्याउने स्पिरिट सहित आएको अनुमान गर्न सक्छु’, थापाले भने, ‘सन्दिग्ध व्यक्तिहरु सरकारको घेराभित्र आएको हुनाले त्यसलाई आधार बनाएर आएको हुनसक्छ।’

उनले रक्षामन्त्रीको धारणा गृहको आधिकारिक धारणा नभएको बताए। ‘गृहको आधिकारिक धारणा थिएन। छिट्टै नै ल्याउने स्पिरिटमा भनेको अनुमान गर्न सक्छु’, थापाले भने।’

यस्तै सांसद सुजाता परियारले भने ‘निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बितेको भन्दै कहिलेसम्म हत्यारा पत्ता लाग्छ’ भन्दै प्रश्न सोधिन्।

जवाफमा गृह मन्त्रीले छानविन भैराखेको जवाफ दिए। ‘सरकार अपराधीलाई छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउन प्रतिबद्ध छ’, थापाले भने, कतिपय घटनामा अनुसन्धान गर्दै जाँदा लामो समय लिन सक्छ। कहिलेकाँही अपराध अनुसन्धानमा तुरुन्तै कानुनको कठघरामा ल्याउन समय लाग्छ। बर्षौ पनि लाग्छ। तर जहिलेपनि राज्यको प्रतिबद्धता के हुन्छ भने अपराधी कठघरामा ल्याउने र न्याय दिने भन्ने हो। हामी यहि प्रयास गरिरहेका छौँ।’

नेकपाका सांसद महेश बस्नेतले भने प्रश्न सोध्नुको साटो गृहमन्त्रीको बचाउ गरे। उनले नेपाल प्रहरी अनुसन्धानमा ९६ प्रतिशत सफल भएको भन्ने गृहमन्त्रीले राखेको धारणामै बधाई दिए। उनले निर्मला प्रकरण मानवअधिकार र मिडियाका लागि गरिखाने विषय भएको टिप्पणी गरे। साथै प्रतिपक्षका लागि मुद्दा भएको बताए। उनले घटनाको क्रममा कञ्चनपुर प्रहरी प्रमुख रहेका दिलिपसिंह बिष्टलाई एसपी बनाए राखिरहने तर्फ अनुसनन्धान केन्द्रित गर्न सुझाव दिए।

गृहमन्त्री थापाले ‘त्यो विषयमा पनि सरकार केन्द्रीत छ’ भन्दै जवाफ फर्काए।