काठमाडौं । काठमाडौंबाट १ सय ६ यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० अवतरण नगरेरै फर्किएको छ।


ADVERTISEMENT


निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार, दिल्लीस्थित इन्द्रिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण निगमको विमान अवतरण हुन नसकेर काठमाडौं फर्किएको हो।


ADVERTISEMENT

# # #


‘आँधी र हावाहुरीका कारण विमान दिल्लीमा अवतरण नगरी काठमाडौँ फर्किएको हो,’ प्रवक्ता कोइरालाले भने।

निगमका अनुसार बिहीबार बेलुकी अन्य थुप्रै उडानहरू दिल्लीमा अवतरण हुन नसकेर फर्किएका थिए।

आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौंबाट उडेको थियो। यो रुटमा एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ।

उक्त विमानले दिल्लीमा अवतरण गर्न नपाएपछी राति साढे ८ बजे काठमाडौंमै अवतरण गरेको थियो।

‘दिल्ली विमानस्थलको आकाशमा एक घण्टा हाराहारी होल्ड गर्नुपर्ने भनिएको थियो,’ निगमका एक पाइलटले भने, ‘त्यसपछि पनि विमानस्थल खुल्ने सम्भावना नदेखिएपछि हाम्रो विमान काठमाडौं फर्किएको हो।’ उक्त उडानमा क्याप्टेन पीआर भण्डारी र एसके ढेवाजु थिए।

कुनै पनि उडानमा रहेको विमानले गन्तव्य विमानस्थलमा अवतरण गर्न नसकेपछि नजिकैको अर्को वैकल्पिक विमानस्थलमा अवतरण गर्ने योजना बनाएको हुन्छ। काठमाडौँ दिल्ली रुटमा नजिककैको वैकल्पिक विमानस्थल लखनऊ पर्छ।

तर, लखनऊमा निगमको कार्यालय र ग्राउन्ड ह्यान्डलिङएजेन्ट नभएकाले काठमाडौँ फर्किएको प्रवक्ता कोइरालाले बताए। उनले दिल्लीको मौसममा सुधार आएमा फेरी दिल्ली उडान गरिने बताए। दिल्लीबाट काठमाडौं फर्किने यात्रुको सङ्ख्या १ सय ५० थियो।