काठमाडौं । नेपाली काङ्ग्रेसमा नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बिहिबार बसेको बैठकमा सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।


ADVERTISEMENT


सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । यस परिस्थितिमा सङ्घको कार्यसमिति सम्बन्धमा यथावत अवस्थामै समावधि बढाउने वा अर्को समिति बनाउने बारेमा छलफल जारी रहेको जानकारी गराउँदै प्रवक्ता शर्माले भने, “यस सम्बन्धमा शुक्रबारसम्म टुङ्गो लाग्न सक्छ ।”


ADVERTISEMENT

# # #


काङ्ग्रेस बैठकमा अधिकांश सदस्यले सङ्घको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको र सोहीअनुसार तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । सङ्घको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था छ । सो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने उनको तर्क छ ।

त्यस्तै काङ्ग्र्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । यसमा पनि पक्ष र विपक्षमा दुवै थरीका धारणा आएको प्रवक्ता शर्माले जानकारी दिए ।

बैठकमा यसबाहेक सरकारका कामकारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको छ ।