काठमाडौं । काम गरिरहेको ठेकेदारलाई भुक्तानी रोकेर भगाउँदै आएको खानेपानी मन्त्रालयले मेलम्ची ठेक्का रद्द गरेको छ।


ADVERTISEMENT


मन्त्रालयको यो निर्णयबाट ९७ प्रतिशत काम पूरा भएको मेलम्ची योजना कम्तीमा तीन वर्ष पर धकेलिने छ।


ADVERTISEMENT

# # #


खानेपानी सचिव गजेन्द्र ठाकुरको अध्यक्षतामा बिहीबार बसेको मेलम्ची खानेपानी विकास समिति बैठकले ठेक्का रद्द गर्ने निर्णय गरेको हो।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची ठेकेदार सीमएसीसित ‘वार्ता गर्न’ उपकार्यकारी निर्देशक भोजविक्रम थापा र मन्त्रीका स्वकीय सचिव विजय भट्टराईसहित चारजनाको टोलीलाई थाइल्यान्ड पठाएकी थिइन्।

थाइल्यान्डमा वार्ता गर्ने भनेर पठाए पनि उनीहरूले सिंगापुरमा गएर वार्ता गरेका थिए। यता मन्त्रालयले सिंगापुरमा वार्ता जारी रहेका बेला ठेक्का रद्द गरेको हो।
बैठकपछि समितिले जारी गरेको विज्ञप्तिमा ‘ठेक्का तोडिएको परिस्थितिमा आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले नेपाल सरकारसमक्ष विकल्पसहितको प्रस्ताव तयार गर्ने र नेपाल सरकारले गर्ने निर्णय दृढतापूर्वक कार्यान्वयन गरी हालको परिस्थतिले सिर्जित ढिलाइसमेत परिपूर्ति गर्नेतर्फ अघि बढ्ने बेहोरा आम समुदायमा जानकारी गराउँछौं’ उल्लेख छ।

विज्ञप्तिमा त्यस्तो विकल्पबारे भने खुलाइएको छैन। खानेपानी मन्त्रालय स्रोतका अनुसार सचिव गजेन्द्र ठाकुर र मन्त्री मगर सुरुदेखि नै सीएमसीसित ठेक्का रद्द गर्न लागिपरेका थिए।

नियमानुसार सीएमसीले पाउनैपर्ने भुक्तानी रोकेर उनीहरूले ठेक्का रद्द गरी नयाँ ठेक्का गर्न चलखेल गर्दै आएका थिए।