बाँके– एक वर्षको अवधिमा नेपालगन्ज उपमहानगरपालिकामा २२ किलोमिटर सडक विस्तार र कालोपत्रे भएको छ । एकीकृत सहरी विकास आयोजनामार्फत नगरभित्र पर्ने ३९ वटा सडक विस्तार गरी २२ किलोमिटर कालोपत्रे भएको हो ।


ADVERTISEMENT


आयोजनाका इन्जिनियर शैलेन्द्रकुमार महर्जनका अनुसार एसियाली विकास बैंकको आर्थिक सहयोगमा नगरभित्रका सडक विस्तारसँगै कालोपत्रे भएको हो । साँघुरा सडकलाई आयोजनाले विस्तार गरी ६ देखि १२ मिटर चौडा बनाएको छ । ‘बस्ती तथा ठाउँको अवस्था हेरेर सरकारी मापदण्डअनुसार सडक चौडा गरिएको छ । सहमति भएकामध्ये अब सात किलोमिटर निर्माण गर्न बाँकी छ,’ महर्जनले भने, ‘निर्माण हुन बाँकी सडकको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’


ADVERTISEMENT

# # #


झन्डै एक वर्षअघि सम्झौता गरी निर्माण सुरु भएको थियो । एक वर्षको अवधिमा ३४ किलोमिटर नाला निर्माण पूरा भएको छ । उपमहानगरपालिकाले १ भदौ ०७७ सम्ममा नगरभित्र ५९ किलोमिटर नाला निर्माण गर्ने योजना बनाएको छ । ‘सम्झौताअघि नै नाला निर्माणको काम सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको छ,’ इन्जिनियर महर्जनले भने ।

 सडक विस्तारमा  नगरवासीको सहयोग

नेपालगन्ज नगरभित्रका मुख्यसडक नालासहित चौडा भएपछि अन्य ठाउँका नगरवासीले पनि सडक विस्तार, नाला निर्माण र कालोपत्रेका लागि उपमहानगरपालिकालाई आग्रह गर्न थालेका छन् । सडक विस्तारले हिँडडुल गर्न सजिलो हुने, जग्गा र घरको मूल्यांकन बढ्न थालेपछि सडक निर्माणका लागि नगरवासीले आग्रह गर्न थालेको नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

अबको एक वर्षमा नेपालगन्ज उपमहानगरका अधिकांश सडक नालासँगै कालोपत्रे भइसक्ने उपमहानगरपालिकाले जनाएको छ । आधाभन्दा बढी सडक चौडासँगै कालोपत्रे भइसकेकाले अबको एक वर्षभित्र अधिकांश मुख्यसडक कालोपत्रे र भित्री सडक पिसिसी हुने नगर प्रमुख डा। धवलशमशेर राणाले बताए । उनले नेपालगन्ज नगरलाई धुलोमुक्त बनाउने अभियानमा उपमहानगर रहेको बताए ।