गलकोट ।  प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली बागलुङ आएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय र लगत सङ्कलनका लागि प्राविधिक टोली आयोजनास्थलमा खटिएकोे नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT


प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको वातावरणीय प्रभाव मूल्याङ्कन र प्रभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजनाभित्र पर्ने जग्गा, रूखलगायतको लगत सङ्कलनका लागि प्राविधिक टोली ढोरपाटन आएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक कृष्णप्रसाद जोशी, वातावरण विभागका सहनिर्देशक अच्युत दवाडी, वातावरणविद् विनोद प्याकुरेल, सिभिल इञ्जिनीयर कौशल घिमिरे र सिभिल इञ्जिनीयर कैशल अन्सारीलगायतको १० जनाको प्राविधिक टोलीले अहिले आयोजना स्थलको विस्तृत अध्ययन गरिरहेको छ ।

आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूचीसहितको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई आयोजना प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययनका लागि प्राधिकरणको टोली आएको नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक कृष्णप्रसाद जोशीले राससलाई बताए।

“अहिले आयोजना अध्ययनकै चरणमा छ,” सहायक निर्देशक जोशीले भने, “आयोजनाले समाजमा पार्न सक्ने भौतिक, जैविक, सामाजिक र सांस्कृतिक वातावरणको गम्भीर अध्ययन गरिरहेका छौँ ।” प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बस्ती स्थानान्तरणको सम्भावना, प्रभावितहरुलाई प्रदान गरिने मुआब्जा, स्थानीयवासीको मागका विषयमा स्थानीयवासीलाई राय सङ्कलनसमेत गरिरहेको छ ।

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने नेपालकै उत्कृष्ट आयोजना रहेको अध्ययन टोलीका सदस्य विभागका सहनिर्देशक दवाडीले बताउनुभयो । ठूला आयोजना निर्माण गर्दा कम विस्थापित हुने नेपालकै पहिलो आयोजना उत्तरगङ्गा जलाशययुक्त आयोजना रहेको दवाडीको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्यायन प्रतिवेदन भइसकेपछि आयोजना निर्माण गर्न अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेर निर्माणको काम थालिने प्राधिकरणको भनाइ छ ।

गण्डकी प्रदेशको समृद्धिका लागि आयोजनाले ठूलो भूमिका खेल्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए। ८२८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत् आयोजनाको लामो समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवादका कारण अगाडि बढ्न सकेको थिएन ।

आयोजना रुकुमतर्फ खसाल्दा जम्मा ३५० मेगावाट उत्पादन हुने भएपछि निसिखोला नै खसाल्ने निधो भएसँगै आयोजनाले गति लिएको छ । आयोजना निर्माण गर्न करीब ६०० घरधुरी विस्थापित हुनेछन् भने पाँच हजार कित्ता जमीन प्रयोग हुनसक्ने प्राधिकरणबाट खटिएकोे प्राविधिक टोलीले अनुमान गरेको छ ।

ढोरपाटनमा रहेको उत्तरगङ्गा नदीको पानीलाई एक हजार ३५० मिटर तल निसिखोलामा खसालेर विद्युत् उत्पादन गरिने लक्ष्य आयोजनाले राखेको छ । आयोजना निर्माणका लागि करीब १२० अर्ब खर्च लाग्नेछ । जलाशययुक्त जलविद्युुत् आयोजना निर्माण भएपछि बर्खा र हिउँदमा एकै किसिमको विद्युत् उत्पादन हुनेछ । रासस