फागुन १, काठमाडौं । निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन्।


ADVERTISEMENT


फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुलाई समेत सँगै लिएर गएका छन्।


ADVERTISEMENT

# # #


मंगलबारसम्म ५६ जना सचिव, ६६२ सहसचिव र ८४८ जना उपसचिवको मात्र समायोजन भएको छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन्।

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, ७ वटा प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । फागुन ३ भित्र समायोजन सक्ने सरकारको योजना थियो।

सबै समूहका करिब ६ हजार अधिकृतको समायोजन प्रक्रिया अघि बढे पनि मन्त्री र महाशाखा प्रमुख नहुँदा उनीहरूको पदस्थापन र सरुवाको कामसमेत अवरुद्ध भएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए।

‘समायोजन जुन हिसाबले अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने, ‘फागुन २ मा अहिलेसम्मको प्रगतिबारे मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराउनेछ।’

मन्त्री पण्डित पत्नी विमला महत, सहसचिव पनेरु, स्वकीय सचिव मनोज राई, आफ्नो निर्वाचन क्षेत्रका नेता अजम्बर राई र छोरी अर्चना पण्डितलाई लिएर झन्डै एक सातादेखि दुबई र आबुधाबीमा विभिन्न कार्यक्रममा व्यस्त छन् । मन्त्री पण्डित बुधबार राति फर्कनेछन्।

यूएई सरकारको निमन्त्रणामा ‘विश्व सरकार शिखर सम्मेलन’ मा भाग लिन भन्दै मन्त्री पण्डित दुबई गए पनि पनेरुलगायत अरू कसैको त्यहाँ कुनै जिम्मेवारी छैन । उनीहरू घुम्ने उद्देश्यले मात्र गएका हुन् ।

प्रवक्ता अधिकारीले महाशाखा प्रमुख पनेरु मन्त्रीलाई सहयोग गर्न सँगै गएको दाबी गरे । मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्री पण्डित, सहसचिव पनेरु र स्वकीय सचिव राईको खर्च सरकारले बेहोर्नेछ।

केही दिनअघि मन्त्री पण्डितले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर जसरी पनि फागुन ३ भित्र कर्मचारी समायोजन सक्न निर्देशन दिएका थिए।

सोही दिन सरकार गठनको एक वर्ष पूरा हुने र उपलब्धिस्वरूप समायोजन पूरा गर्ने भन्दै त्यसैमा केन्द्रित कर्मचारीलाई मन्त्रीको निर्देशन थियो । मन्त्रालयका एक अधिकारीले मन्त्री र महाशाखाकै प्रमुख नहुँदा समायोजन प्रक्रिया अवरुद्ध भएको बताए।