तेह्रथुम– जिल्लामा परम्परागत रुपमा हाते मेसिनबाट बुनेर तयार गरिँदै आएको ‘तेह्रथुमे ढाका’ कपडाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने प्रयास थालिएको छ ।


ADVERTISEMENT


ढाका कपडा व्यावसायिकरुपमै बुनिरहेका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप प्रदान गरी ढाकाको बजार प्रवद्र्वन गर्न सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


यहाँका महिलाले गाउँघरमै बसेर हाते मेसिनबाट हातैले बुनेर तयार गरिएको ढाकाको कपडा देशविदेशमा ‘तेह्रथुमे ढाका’ को नामले चर्चित छ । हातैले बुनेको, कलात्मक र आकर्षक बुट्टा राखिएका कारण तेह्रथुमे ढाका एक हस्तकलाको रुपमा लोकप्रिय छ । जिल्लाका गाउँ÷गाउँमासमेत महिलाले घरायसी कामसँगै न्यून लगानीमा हाते मेसिनबाट आकर्षक डिजाइनका ढाका कपडा बुनेर आम्दानी गर्ने गरेका छन् ।

समय, सीप र मिहेनतबाट तयार हुने आकर्षक डिजाइनका कलात्मक ढाकाका कपडाको मूल्य निर्धारण र बजार व्यवस्थापनमा उनीहरुको आफ्नै पहुँच स्थापना हुनसकेको छैन । जिल्लामा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमले महिला उद्यमीको सीपलाई आधुनिक र व्यवस्थित बनाएर उनीहरुको आयस्तरमा वृद्धि गर्न ढाका कपडाको व्यावसायिकरण र बजार प्रवर्धन गर्न थालिएको हो ।

गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा सञ्चालित सीप विकास तथा व्यावसायिकता कार्यक्रमले ‘तेह्रथुमे ढाका’ को बजारीकरणमा सहयोग गर्दै आएको गरिबी निवारण कोषका जिल्ला कार्यप्रबन्धक नरेन्द्रप्रसाद कटुवालले बताए।

सुरुवातमा उद्यमीलाई सदरमुकाम म्याङलुङमा ढाका कपडाको नयाँ र आकर्षक डिजाइन, मूल्य निर्धारण र बजारीकरण सम्बन्धी तालिम सञ्चालन गर्दैआएको कटुवालको भनाइ छ ।

“तेह्रथुमे ढाका नेपालमा भन्दा विदेशमा लोकप्रिय छ,” उनले भने । तालिमपछि महिलाका लागि साझा सुविधा केन्द्र स्थापना गर्ने तयारी छ । म्याङलुङ, जलजले, सिम्ले, सोल्मा र ओयाक्जुङका महिलालाई ढाका कपडाको डिजाइन सम्बन्धी तालिम प्रदान गरिएको छ ।