काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब पानी जहाजको युगमा प्रवेश गरेको बताएका छन् । साथै उनले केही कर्मचारीलाई जागिर खुवाउनमात्रै नेपाल पानीजहाज कार्यालय नखोलेको स्पष्ट पारे ।


ADVERTISEMENT


एकान्तकुनामा आज पानीहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने बताए । “नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको छ । केही मान्छेहरु केको युग ? कस्तो युग ? भन्दै शास्त्रीय कुरा गर्छन् ।” उनले भने, “म त्यतातिर जान्न, तर नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको छ । हामीसँग बन्दरगाह थियो, अब आफ्नै पानीजहाज भएपछि आफूलाई चाहिने सामान सिधै ल्याइन्छ, सिधै पठाइन्छ । भूपरिवेष्टित भनेर किन खुम्चने ? नेपालका जलमार्गमा पानीजहाज चलाइन्छ ।”


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले पानीजहाज इन्जिनियरहरुलाई नेपालका नदीअनुसार पानीजहाज बनाउन निर्देशन दिए । उनले भने, “हाम्रा नदी गहिरा छैनन्, फिँजिएका छन् भने फराकिला चौडाइका जहाज बनाउनूस् । यति नै मिटर भनेर किन तोक्ने ? केही मिटर साना जहाज बनाउनूस् ।”

पानीजहाजको टिकट कहिले काट्न पाइन्छ भनेर आलोचना गर्नेहरुलाई उनले केही दिन पर्खन आग्रह गरे । उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’

भारत भ्रमणको क्रममा रक्सौल– काठमाडौं रेल र पानी जहाजको कुरा आफूले उठाएको स्मरण गर्दै उनले केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत ओसार्न सकिने बताए ।