काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा यूएईले दिएको ४२ रनको लक्ष्य पूरा गर्ने क्रममा १०.२ ओभरमा विकेट ३ गुमाएर ४५ रन बनाउँदै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।


ADVERTISEMENT

# # #


नेपालको सहज जितका लागि काजल श्रेष्ठले १५ रन बनाइन आउट हुँदा कप्तान रुबिना क्षेत्री १८ रन बनाइ अविजित रहिन । सीता रानामगरले ६ रन जोड्दा अप्सरी बेगम शुन्य रनमै आउट भइन । रोमा थापा क्रिजमा आए पनि ब्याटिङ गर्ने अवसर पाइनन् ।पहिलो विकेटका लागि सीता र काजलले २३ रनको साझेदारी गरेका थिए ।

त्यसपछि क्रिजमा आएकी अप्सरी बेगम कुनै योगदान नगरी आउट भइन भने जितका लागि एक रन मात्रै आवश्यक हुँदा काजल श्रेष्ठ आउट भएकी थिइन ।

यूएईले टस जितेर ब्याटिङ रोजेपछि पहिले बलिङ गरेको नेपाली महिला टोलीले यूएईलाई १७.३ ओभरमा ४१ रन मै सीमित ग¥यो । यूएईलाइ सस्तैमा समेट्ने क्रममा नेपालका लागि नेरी थापाले ४ विकेट, लिइन । सीता रानामगर , कविता कुँवर र सोनु खड्काले २–२ विकेट लिए । यूएईकी एक ब्याट्सम्यानले मात्रै दोहोरो अंकको रन बनाउन सकिन ।

प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको नेपाल बिहीबार दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित भएको थियो । प्रतियोगितामा एसियाका एसोसिएटतर्फका शीर्ष सात टोलीको सहभागिता रहेको छ । नेपालसहित थाइल्याण्ड, युएई, हङकङ, कुवेत, मलेसिया र चीन प्रतियोगितामा छन् ।

२० ओभरको यो प्रतियोगितालाई आईसीसीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने महिला टीट्वेन्टी विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप दुवैको एसियाली छनोट प्रतियोगिताका रूपमा लिएको छ।

सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने छनोट प्रतियोगितामार्फत शीर्ष स्थानमा रहने एक टोली मात्रै यी दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा पुग्नेछन्।