काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटर्सेनले आज बिदाइ भेट गरेका छन् ।


ADVERTISEMENT


आफ्नो चारवर्षीय कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका नर्वेका राजदूत पिटर्सेनसँगको भेटमा उपराष्ट्रपति पुनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा नर्वेको ठूलो सहयोग रहेको बताए । उनले राजदूत पिटर्सेनको कार्यकालमा नेपाल–नर्वे सम्बन्ध थप सुदृढ भएको बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भेटमा उपराष्ट्रपतिले स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र स्थानीय तहको तेस्रो चरण, प्रदेश र संघको निर्वाचनपछि नेपालले पूर्ण राजनीतिक स्थायित्व हासिल गर्ने बताए। उनले सबै चरणको निर्वाचनपछि नेपाल समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास दिलाए ।

उपराष्ट्रपतिसँगको बिदाइ भेटमा नर्वेका राजदूतले नेपालले हासिल गरेको राजनीतिक स्थायित्वको प्रशंसा गर्दै नेपाल पदयात्राका लागि स्वर्ग भएको आफूले अनुभूति गरेको बताए ।

नेपाल शान्ति प्रक्रियाका लागि विश्वकै नयाँ उदाहरण भएको उल्लेख गर्दै उहाँले नेपालले नोबल शान्ति पुरस्कार पाउनुपर्ने बताए । उपराष्ट्रपतिले नेपाली ढाका टोपी लगाई दिएर नर्वेका राजदूतलाई बिदाइ गरे। रासस