रामचन्द्र पाण्डे, काठमाडौँ – शुक्रबारदेखि मलेसियामा सुरु हुने यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल सिंगापुरसंग खेल्दैछ । प्रतियोगिताको शीर्ष स्थानमा रहँदै सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपमा पुग्ने उद्देश्यका साथ नेपालले प्रतियोगिता सुरु गर्दैछ ।


ADVERTISEMENT


आयोजक मलेसिया, यूएई, सिंगापुर, कुवेत र ओमानसहित ६ देश सहभागी प्रतियोगितामा नेपाललाई बलियो टोलीका रुपमा लिइएको छ । राष्ट्रिय टिमका नियमित सदस्य भइसकेका रोहित पौडेलले पहिलो पटक नेपाली यू-१९ टिमको नेतृत्व सम्हाल्दैछन् । उनीसंगै राष्ट्रिय टिममा स्थान बनाइसकेका पवन सर्राफ, सन्दीप जोरा र भीम सार्कीस्ता अनुभवी खेलाडी रहेकाले पनि नेपाली टिम यसपटक बलियो देखिएको छ ।


ADVERTISEMENT

# # #


प्रतियोगिता सुरु हुनुअघि भएको पत्रकार सम्मेलनमा पहिलो पटक कप्तान बन्दा पनि आफुमा त्यती दबाब नरहेको रोहितले बताए । उनले भने, ‘पहिले पनि जिम्मेवारी लिएर नै खेलिरहेको थिएँ । तर, अहिले थोरै जिम्मेवारी थपिएको छ । त्यस्तो दबाब छैन । नेपाललाई विश्वकपमा पुर्याउन यो मेरा लागि अवसर पनि हो ।’

उनले प्रतियोगिताको लागि तयारी राम्रै भएको र टिममा अधिकांश अनुभवी खेलाडी भएकाले टिमको मनोबल उच्च रहेको उनले बताए । प्रतियोगिताका लागि भन्दै नेपालले यसअघि भारतको आन्ध्र प्रदेशमा १५ दिने भ्रमण गरेको थियो । त्यहाँ रहँदा नेपाली टिमले आन्ध्र प्रदेश यू-१९ टिमसंग ६ वटा खेल खेलेको थियो । जसमा नेपालले ४ वटा जित निकालेको थियो ।

टिममा कुशल मल्ल, हरि चौहान, अभिषेक बस्नेत र प्रतिश जिसीले पहिलो पटक स्थान बनाएका छन् । नयाँ भएपनि उनीहरुमा खेल जिताउने क्षमता भएको रोहितले बताउँछन् । ‘भारत भ्रमण पनि राम्रै भएको छ । यसले नयाँ खेलाडीका लागि राम्रो अनुभव दियो जस्तो लाग्छ । आन्ध्र प्रदेशको मौसम पनि मलेसियाकै जस्तो भएकोले हामी त्यहाँ गएका हौँ । त्यसकारण प्रतियोगिता खेल्न गाह्रो छैन ।’ भारत भ्रमण सम्झिँदै उनले भने, ‘सबै खेलाडीले अभ्यासका दौरानमा राम्रो प्रदर्शन गरेका छन् । त्यसले पनि हामी बलियो बनेका छौँ ।’

प्रतियोगितामा अन्य ५ टिम मध्ये युएई केही बलियो भएपनि नेपालले पराजित गर्नेमा ढुक्क रहेको कप्तान रोहित बताए । ‘यूएईको टिममा केही परिवर्तन भएको छ जस्तो लाग्छ । यसअघि बंगलादेशमा भएको खेलमा पनि यूएईले हामीविरुद्ध २७० रन बनाएको थियो ।’ उनले भने, ‘त्यसकारण पनि हाम्रो मुख्य चुनौती भनेकै यूएई हो । तर हामी यूएईलाई पराजित गर्न सक्छौं ।’

यसपटक टिमको बलियो पक्ष ब्याटिङ भएको रोहितको भनाइ छ । ‘भारत भ्रमणमा रहँदा हामीले सबै खेलमा २ सय रन कटाएका छौँ । १-८ नम्बरसम्म हाम्रो ब्याटिङ गर्नसक्ने खेलाडी रहेका छन् ।’ उनले भने, ‘तर, बलिङ पनि राम्रै छ । सागर ढकाल, सूर्य तामाङ, पवन सर्राफ र कुशल मल्ल जस्ता स्पिनर छन् भने कमलसिंह ऐरी र राशिद खान उत्कृष्ट फाष्ट बलिङ गर्नसक्छन् ।’

नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल रहेका छन् । यस्तै अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सूर्य तामाङले पनि अन्तिम १४ मा स्थान बनाएका छन् ।

सिंगापुरसँग नेपालले क्वालालम्पुरस्थित सिलेंगर टर्फ क्लब मैदानमा नेपाली समय अनुसार बिहान ७:४५ बजे खेल्दै छ ।