टोकियो – जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् ।


ADVERTISEMENT


चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए । गत अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मदा २५८ ग्राममात्र थियो । जापानमा यो दोस्रो अनौठो घटना हो । यसअघि अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २६८ ग्राम थियो । ती बालकलाई गत फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।


ADVERTISEMENT

# # #


अस्पतालको इन्टेन्सिभ केयरमा सात महिना राखेपछि रेयुसुकेको तौल १३ गुणा बढेको थियो । अहिले ती बालकको तौल ३ किलोग्रामभन्दा बढी भइसकेको छ । ती बच्चालाई जापानको नागानो बाल अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

जन्मिदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएला जस्तो लाग्थ्यो । मलाई त अति डर लाग्थ्यो, आमा तोशिकाले बताइन् । “अहिले ऊ दूध पिउँछ । हामीले उसलाई नुहाइदिन थालेका छौं । मलाई अति खुशी लागेको छ,” उनले भनिन् ।

विश्वमै सबैभन्दा कम तौलकी बालिका सन् २०१५ मा जर्मनीमा जन्मिएकी थिइन् । जन्मिदा उनको तौल २५२ ग्राम मात्र थियो । अति साना बालबच्चाको बाँच्ने दर केटीहरुको भन्दा केटाहरुको कम हुने गर्दछ । एएफपी