काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायत छन् । काठमाडौँको रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए ।


ADVERTISEMENT

# # #


यसअघि कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए । ‘धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको हो’ थापाको आरोप छ ।

राप्रपाले शुक्रबार देशैभर व्यापक जनसहभागितामा धर्मनिरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए । ‘धर्म निरपेक्षतालाई तत्काल खारेज गर्नुपर्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम गरेका हौँ,’ लिङ्देनले भने, ‘हामीले गर्दै आएका हरेक संघर्ष र आन्दोलनका कार्यक्रम संविधान र कानूनकै परिधिभित्र रहेर भएका छन् ।

राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।