काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सुन तस्करीलाई रोकेको दाबी गरेका छन् । पार्टीको ७० औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुन तस्करलाई सरकार ठेगान लगाउन सफल भएको बताए ।


ADVERTISEMENT


आफू नेतृत्वको सरकार आउने बित्तिकै सुन तस्करीको प्वाल टालेको भन्दै प्रधानमन्त्री ओलीलले दोषीमाथि कारबाही भइरहेको उल्लेख गरे । ‘नाकमा दुई लालको फुली लाउन पाएको हुँदैन, २ आनाको औँठी लाउन पाएको हुँदैन । तर, ३८ क्वीन्टल सुन आइरहेको रहेछ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यत्रो व्यङ्ग्य चलिरहेको रहेछ । हाम्रो सरकार आउने वित्तिकै यसको प्वाल झ्याप्पै बन्द गरिदियो । अनि कराए, खोई सुन ? त्यसबेलाकाले थाहा पाउनु पर्यो नि सुन कहाँ पुर्याए ?’


ADVERTISEMENT

# # #


सुन तस्करीको बारेमा थप अनुसन्धान भइरहेको भन्दै उनले कारोबारीको पृष्ठभूमिमा बसेकाहरु आत्तिएको टिप्पणी गरे । ‘अब सुनको तस्करी हुँदैन । जिल्ला जिल्लामा गएर जमिनमुनी राखेको सुन पनि खोतलेर निकालिरहेका छौँ’ उनले भने ।

यस्तै उनले ठेकेदार भागेकाले केही ढिला भएपनि मेलम्चीको पानी काठमाडौँ ल्याएरै छाड्ने बताए । हरेक दिन नेपाल एक कदम अगाडि बढेको भन्दै उनले देशभर तुइन विस्थापन गर्ने काम पनि तीव्र रुपमा भइरहेको बताए । उनले भने, ‘आँखामा पट्टी बाँधेपछि केही पनि देखिँदैन । तर तथ्य र आकँडाले यो पनि भन्छ कि यो वर्ष मात्रै ४ सय झुलुंगे पुल बनेका छन्, ४० वटा तुईन विस्थापित भएका छन् ।’

भ्रष्टाचारको सन्दर्भमा कुनै पनि मुलाहिजा नगर्ने प्रधानमन्त्रीले स्पष्ट पारे ।
आफ्नो पार्टीको नेतृत्वको सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै केही दिनपछि चमत्कार गरेर देखाउने समेत बताए । उनले ज्यातिषिहरुले गरेका भविश्यवाणी गलत भएको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरे ।

‘कहिले पार्टी फुट्छ भन्ने, कहिले यो महिना टुक्रिन्छ भन्ने १ दुईवटा पार्टी मिल्छ भन्ने किन थाहा पाएनन् ज्योतिषीले ?,’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री केपी ओलीले सरकारको उद्देश्य अरु केही नभएर शान्तिसुरक्षा प्रदान गर्ने, विकास निर्माण अघि बढाउने र लोकतन्त्रलाई मजवुत बनाउने भएको बताए । प्रदेश र स्थानीय सरकारलाई समेत साथै लिएर अघि बढ्ने भन्दै सवै जनप्रतिनिधि संस्था, प्रशासनिक निकाय विकासका लागि प्रयोग गर्ने बताए ।