काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् ।


ADVERTISEMENT


काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिए । मन्त्री बाँस्कोटाले भने, “एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ, यस विषयमा सरकार ब्याक भएको छैन ।”


ADVERTISEMENT

# # #


काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणबारे एक चिनियाँ कम्पनीले चासो दिइरहेको उनले बताए । “डोमेष्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ”, मन्त्री बाँस्कोटाले भनले भने, “अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेशन र होल्डिङका लागि लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ ।”

आन्तरिक विमानस्थलका लागि गत साल बनेपाको नागीडाँडा र धुलिखेलको देवीस्थान र चिसापानी ठूलीचौरको जमीन निरीक्षण गरिएको जानकारी दिँदै उनले भने, “आवश्यकताले पनि विकास निम्त्याउने हो, यसका लागि सरकार तयार छ ।” मन्त्री बाँस्कोटाले समयले कसैलाई नपर्खने भएकाले अवसरका बेला चुनौतीको सामना गर्दै कुनै पनि हालतमा उद्देश्य पूरा गरेरै छाड्ने जिकिर गरे ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले नगर समृद्ध बनाउन व्यवसायी र स्थानीय तहबीच सहकार्य गरी अघि बढ्नुपर्ने बताए । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शुरकृष्ण वैद्यले सरकार औद्योगिक क्षेत्रमा सकारात्मक भएकामा खुशी व्यक्त गर्दै सरकार नवनिर्माणसँगै समृद्धिको बाटोतर्फ लम्किएकाले केही वर्षमै विकासको प्रतिफल देखिने बताए । रासस