काठमाडौँ – आइपीएलको आजको पहिलो खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर आमनेसामने हुँदैछन् ।


ADVERTISEMENT


प्लेअफमा पुग्नका लागि एक जित मात्र टाढा रहेको दिल्ली बैंगलोरलाई परास्त गर्न चाहन्छ । तर, बैंगलोरले दिल्लीको फिरोज शाह कोट्ला मैदानमा पछिल्ला १० वर्षमा हारको सामना गर्नु परेको छैन । यी दुई टिमबीच आजसम्म २३ वटा खेल भएका छन् । जसमा बैंगलोरले १५ र दिल्लीले ७ खेल जितेका छन् । एउटा खेलमा नतिजा आएको थिएन ।


ADVERTISEMENT

# # #


यस्तै कोट्ला मैदानमा यी दुई टिमबीच ८ वटा खेल भएका छन् । जसमा बैंगलोरले ६ जित हासिल गरेको छ भने दिल्लीले दुईवटा मात्र जित निकालेको छ । बैंगलोरविरुद्ध दिल्लीले आफ्नो घरेलू मैदानमा पछिल्लो जित सन् २००९ मा निकालेको थियो ।

दिल्ली र बैंगलोरले यस संस्करणमा समान ११ वटा खेल खेलेका छन् । जसमा दिल्ली ७ जितका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । यता बैंगलोरले ४ जितका साथ पुछारमा रहेको छ । प्लेअफको सम्भावना कायमै राख्नका लागि बैंगलोरलाई पनि जितको विकल्प छैन ।  खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे हुनेछ ।

टिममा अटाउलान् सन्दीप ?

नेपाली युवा स्टार सन्दीपले जारी आइपीएलमा अहिलेसम्म ५ वटा मात्रै खेल खेलेका छन् । जसमा उनले ७.७४ को इकोनोमी रेटमा ८ विकेट लिएका छन् । सन्दीपले पाँचमध्ये ३ खेल दिल्लीको घरेलु मैदान कोट्लामा खेलेका छन् । जसमा ५ विकेट लिएका छन् । पछिल्लो पटक उनले किंस ११ पञ्जावविरुद्ध खेलेका थिए । जसमा ३ विकेट लिएका थिए ।

कोट्ला मैदानको पिच स्पिनरमैत्री रहेकाले बैंगलोरविरुद्ध सन्दीपको सम्भावना निकै रहेको छ ।