काठमाडौं – अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा आकष्मिक शल्यक्रिया गराइएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् ।


ADVERTISEMENT


सोमबार सामाजिक सञ्जालमार्फत उनले जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताइन् । उनले भनेकी छन्, ‘समयले मसँग फेरि अर्को खेल खेलेको छ । भनिन्छ, जीवन निकै अनिश्चित हुन्छ, सत्य हो । एक सेकेण्डमै तपाईका योजना र आकांक्षामा कसरी तुषारापात हुन्छ भन्ने कुरा तपाईलाई थाहा हुन्न ।’


ADVERTISEMENT

# # #


श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् ।

‘तपाईहरुलाई यो भनिरहँदा मलाई दुःख लागिरहेको छ कि म आफ्नो नयाँ योजनामा काम गर्न असमर्थ भएकी छु । मैँले भर्खरैमात्रै ‘हेल्लो जिन्दगी’ नामक फिल्म बनाउन सुरु गरेकी थिएँ ।’ उनले भनेकी छन्, ‘फिल्मको सुटिङका लागि लण्डन जानुअघि मैँले डाक्टरसंग परामर्श गरेकी थिएँ । डाक्टरले ट्युमर रहेको र यसलाई निकाल्नुपर्ने तर ठूलो समस्या नभएकाले केही महिना पछि पनि निकाल्न मिल्छ भनेका थिए । तर लण्डन गइसकेपछि मलाई घाँटीमा अत्याधिक दुखाई महसुस भयो । र आकष्मिक रुपमा शल्यक्रिया गर्नुपर्ने भयो ।’

त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली ल्याइयो । त्यहाँ डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको श्वेताले जानकारी दिएकी छन् । उक्त घटनापछि आफूले जीवनबारे अर्को पाठ सिकेको उनी बताउँछिन् । ‘कहिले के हुन्छ हामीलाई थाहा हुँदैन, जीवनले कता डोहोर्याउँछ, त्यो पनि थाहा हुँदैन ।’

उनले स्वास्थ्यका कारण फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् । डरलाग्दो अवस्थालाई आफूले पुनः जीत्न सफल भएको उनले बताइन् ।