बुटवल – प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस भएको छ । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले त्यस्तो सिफारिस सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।


ADVERTISEMENT


शनिबार बसेको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम रुप दिनेछ ।


ADVERTISEMENT

# # #


विशेष समितिका सदस्य विष्णु पन्थीका अनुसार उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्रकुमार पुन मगरलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त प्रतिवेदनमा प्रदेशको नामका लागि यौटा मात्र नाम लुम्बिनी सिफारिस गरिएको छ ।

सुझाव संकलनका क्रममा आएका सुझाव अनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहट लगायतका नामहरू पनि सूचीमा राखिएका थिए । तर बैठकमा लुम्बिनीबारे सहमति भयो ।

विशेष समितिले बनाएका ६ वटा उपसमितिले तयार पारेको सुझावलाई समेटेर बनाएको प्रतिवेदन प्रदेश सभामा पेश हुनेछ । विशेष समितिका सभापति पुन मगरका अनुसार सुझाव संकलनका क्रममा आएका सुझावहरूलाई एकीकृत गरी प्रतिवेदन तयार गर्न पाँच सदस्यीय उपसमिति बनेको थियो ।

नामबारे सहमति जुटेपनि प्रतिवेदनमा स्थायी राजधानीका लागि कुनै एक स्थानलाई मात्र सिफारिश गरिएको छैन् । चर्चामा रहेका रुपन्देही, दाङ, कपिलवस्तु र बांकेलाई सिफारिस गरिएको छ । सुझावका क्रममा बनाइएको प्रश्नपत्रमा लेखिएका उत्तरका आधारमा उपसमितिले सिफारिस गरेको हो ।