काठमाडौँ – २३ मार्चदेखि सुरु भएको चर्चित टी–२० क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल)को १२ औँ संस्करणको फाइनल आज हुँदैछ । हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा उपाधीका लागि महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको  चेन्नई सुपर किङ र रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्स भिड्दैछन् ।


ADVERTISEMENT


समान ३–३ पटकका आइपीएल विजेता दुई टिम आजको खेल जितेर आइपीएलमा सबैभन्दा बढी उपाधी जित्ने इतिहास आफ्नो नाममा लेखाउन आतुर छन् । गत सिजनको विजेता चेन्नई दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकाल्दै उपाधि नजिक पुगेको हो । यस्तै मुम्बईले पहिलो क्वालिफायर्समा चेन्नईलाई पराजित गर्दै सिधै फाइनलमा स्थान बनाएको थियो ।


ADVERTISEMENT

# # #


तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ ।

फाइनलमा चौथो पटक आमने-सामने

प्रतियोगिताको फाइनलमा यी दुबै टिम चौथो पटक आमने सामने हुँदैछन् । यसअघि यी दुबै टिम सन् २०१०, २०१३ र २०१५ मा उपाधीका लागि फाइनलमा भिडेका थिए । तीन पटकको भेटमा मुम्मईले दुई पटक जित हासिल गरेको छ भने चेन्नईको नाममा एक जित रहेको छ ।