जीतपुर – कपिलमुनि ऋषिले माता देवहुतिलाई साङ्ख्य योगदर्शन प्रदान गरेको पुण्यभूमि शान्ति ध्यान केन्द्र आश्रम एवं कपिलधाम यति बेला बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यो महर्षिहरुले तपस्या गरेको स्थल हो । वर्तमान कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–९ भलवाडमा कपिलधाम अवस्थित छ । कपिलवस्तु जिल्लाको नामसमेत महर्षि कपिलमुनिको नामबाट राखिएको विभिन्न जानकार बताउँछन् । कपिलधाम ७२ बिघा क्षेत्रफलमा छ । यस क्षेत्रमा ३५ बिघा क्षेत्रफललाई तारबार गरी संरक्षण गरिएको छ भने ३७ बिघा क्षेत्रफललाई तारबार गर्न बाँकी छ ।


ADVERTISEMENT


ऐतिहासिक एवं पर्यटकीय क्षेत्र कपिलधामको विकासका लागि विभिन्न महायज्ञ आयोजना गरिन्छ । ऐतिहासिकस्थल भईकन पनि ओझेलमा परेको यस स्थानलाई प्रचारप्रसार गर्ने उद्देश्यका साथ पनि धाममा महायज्ञ गरिन्छ । प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलवस्तुृ जिल्लाको विकासका लागि जिल्लाभित्रका कपिलधाम जस्ता धार्मिक तथा पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुले बृहत् गुरुयोजना बनाउन लागेको बताउनुभयो । त्यस्तै लुम्बिनी विकास कोषले समेत बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT

# # #


कपिलधाम विकास समितिले ऋषिहरुको सम्झनामा आठ शालिकसमेत राखेको छ । कपिलधाम संस्थाको क्षेत्रभित्र रहेका जडिबुटीका बोटबिरुवा, योगशिविर, रुद्राभिषेक, हवन, पाटीपौवा, ध्यानकेन्द्र, गौशाला, धर्मशाला, वृद्धाश्रमलगायतको संरक्षण गर्ने उद्देश्य रहेकोे धामका अध्यक्ष शङ्करप्रसाद आचार्यले बताउनुभयो । आचार्यले कपिलधामको विकासका लागि गुरुयोजना निर्माण गरी महत्वपूर्ण सम्पदाको अध्ययन अनुसन्धान गर्ने लक्ष्य अघि सरिएको समेत जानकारी दिए ।

कपिलधामको अध्ययनका लागि धामकै पहलमा अनुसन्धान गर्न देश तथा विदेशबाट अनुसन्धानकर्ता आउने गरका छन् । पर्यटन प्रवद्र्धनको राम्रो वातावरण भए पनि उचित संरक्षण र प्रचारप्रसार नहुँदा सो धाम ओझेलमा पर्दै आएको छ ।

नगरपालिका क्षेत्रभित्र कपिलधामसँगै रामकुमार बाबाधाम, मधुवन धाम, नन्दनगरलगायत दर्जनभन्दा बढी धार्मिक पर्यटकीयस्थल छन् । वर्तमान अवस्थामा कपिलधाम क्षेत्रभित्र आंशिक रुपमा मन्दिर तथा पाटीपौवाजस्ता संरचना रहे तापनि बाँकी धेरै क्षेत्र जङ्गलका रुपमा रहेको छ । कपिलधामको सौन्दर्य अभिवृद्धिका लागि नगरपालिका – ९ बाट समेत आर्थिक सहयोग भएको वडाध्यक्ष ध्रुव बेल्वासेले बताए ।

कपिलधामको विकासका लागि आफूहरु हरतवरबाट लागिपरेको सोही धामका सल्लाहकार आत्माराम आचार्य बताउनुहुन्छ । कपिलधाम क्षेत्रभित्र रहेको साँगुरो बाटालाई यसपालि भने फराकिलो बनाउने काम भइरहेको कपिधामका उपाध्यक्ष साथै निर्माण संयोजक रामप्रसाद खनालले बताए । पहिला खुला चौर र पशु चरनके रुपमा रहेको कपिलधाम संरक्षणपछि धेरै फरक पाइएको र अहिले धामका रुपमा परिचित हुन सकेको धामका आजीवन सदस्य विष्णुप्रसाद खनालको भनाइ छ । उनी भन्छन्, “यस धामको संरक्षणका लागि हामी सबैले गुरुयोजन समेत तयार पारेका छौँ, जसमा धामको सौन्दर्य, जडिबुटीका साथै जलमार्ग बनाउने विषयलाई मुख्य प्राथमिकतामा राखेका छौँ ।”

कपिलधामको समग्र वस्तुस्थिति अवलोकन गर्न अब भने छिमेकी जिल्लाबाट पनि पर्यटक आउने गरेका छन् । धामकै अवलोकनमा आएका अर्घाखाँचीका केही अवलोकनकर्ताले कपिलधाम आफैँमा महत्वपूर्ण क्षेत्र रहे पनि यसमा सरोकार पक्षको ध्यान समयमै नगएकाले जति चर्चामा आउनुपर्ने हो त्यति नआएको बताए । साधुसन्त, विद्यार्थीलगायत युवा पनि कपिलधामको अवलोकन र मन्दिरमा तस्वीर खिँचाउदै आनन्द लिइरहेको देखिन्छ । –शेरिफ केसी/रासस