काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्विपक्षीय महत्वबारे छलफल हुने स्पष्ट पारेका छन् । ओली बिहीबार दिउँसो भारत जाँदैछन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै भट्टराईले मोदी र प्रधानमन्त्री ओलीबीच नेपाल–भारत द्विपक्षीय महत्वका विषयमा सामान्य छलफल हुने जानकारी दिए । भट्टराईले नेपाल र भारतबीच अरुको भन्दा बढि नै चासो रहेको पनि सुनाए । ‘हामीबीच बहुआयामिक सम्बन्ध छ । धेरै विषय भएकोले समस्यापनि छन् । पछिल्लो समय समस्याहरुपनि समाधानतर्फ उन्मुख छन् ।’ उनले भने ।


ADVERTISEMENT

# # #


सन् २०१८ मा तीन चार वटा विषयहरु समाधान गर्न सफल भएको उनको दाबी गर्दै उनले बाँकी समस्या पनि समाधान हुने जिकिर गरे । फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्नेपनि उनले विश्वास दिलाए । ‘हामी दुवै पक्षका सदस्यहरुले सर्वसम्मतीले प्रतिवेदन तयार पारेका हौं ।’ उनले भने, ‘भारतमा चुनाव भएकोले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो । अब छिट्टै बुझ्नुहुन्छ ।’

यस्तै साक्षत्कारमा भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारे । भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ ।

‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुद बनाएर अघि बढाउनेछन् ।’ उनले भने, ‘मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल भ्रमणमा आए । उनले नेपाललाई विशेष महत्व दिएका छन् । मोदी प्रधानमन्त्री भएपछि भारतले नेपाललाई नयाँ रुपमा महत्व दिएको छ ।’ उनले विगतमा दुई देशबीच भएका सम्झौताहरुलाई हल्काफुल्का रुपमा लिईने गरेका भएपनि अहिले ती सम्झौताहरुप्रति नेपालले आफ्नो चासो देखाउन थालेको र भारतलेपनि चिन्ता लिएको जिकिर गरे ।

भारतसंगको नेपालको सम्बन्ध पार्टीको वा नेतामात्रै नभई सम्पूर्ण नेपालीको साझा दृष्टिकोणका आधारमा हुनुपर्ने उनले बताए । ‘भारतसँगको नेपाल सम्बन्ध अब कुनै पार्टीको या नेताको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको साझा दृष्टिकोण हुनुपर्छ ।’ उनले भने, ‘हामीले यसमा राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक छ ।’