देशमा संविधान कार्यान्वयनका लागि निर्वाचन तोकिएकै समयमा गर्नु पर्ने छ । लामो समयदेखि आफ्नो अडान कायम राख्दैआएको राजपा र संविधान संशोधनको विपक्षमा उभिएको एमालेलाई सहमतिमा ल्याएर यसको कार्यान्वयन गर्नु सरकारको चुनौतिको रुपमा उभिएको छ । सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्री परिषद् विस्तार हुन सकिरहेको छैन । विपक्षीहरुलाई सहमतिमा ल्याउनका लागि सरकारले बारम्बार वार्ता गरेपनि निचोडमा पुग्न सकेको छैन । देउवा सरकारको मन्त्री परिषद्मा जाने मध्ये बहादुर सिंह लामाको नामपनि यदाकदा सुनिदै आएको छ । सरकारमा उनको सम्भावना कत्तिको छ ? अब सरकार तथा यसको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेस कसरी अगाडी बढ्छ ? राजपा लगायतका दलहरु सरकारमा आउँने सम्भावना कत्तिको छ ? अन्य राजनीतिक गतिविधिहरु कसरी अगाडी बढ्छन् ? लगायतका विषयमा नेपाली कांग्रेसका सांसद् बहादुर सिंह लामासंग गरिएको छोटो कुराकानी :


ADVERTISEMENT


स्थानीय तह दोस्रो चरणको निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको छ । यसलाई कसरी लिनुभएको छ ?


ADVERTISEMENT

# # #


यो संविधान नेपाली कांग्रेसकै नेतृत्वमा बनेको हो । त्यसैले गर्दा यसलाई कार्यान्वयन गर्न नेपाली कांग्रसकै ठूलो भूमिका रहेकाले निर्वाचनमा जानुपर्छ भनेर भनेको थियो । तर एमालेको नेतृत्वमा हुन सकेको थिएन । हामीले संविधानको कार्यान्वयन गर्नका लागि निर्वाचनलाई प्राथमिकता दिएको र पहिलो तथा दोस्रो चरणको स्थानीय निर्वाचन गरेका छौँ । सापेक्षिक रुपमा हामीले साचेजस्तो नतिजा नआएपनि प्रजातन्त्रलाई बलियो बनाउनका लागि निर्वाचन गरिएको हो । त्यसैले यसलाई हामी राम्रै मान्छौ ।

संविधानको कार्यान्वयन गर्नका लागि निश्चित सीमाभित्र थुप्रै कामहरु गर्नपर्ने हुन्छ । देशलाई निकास दिन कसरी अगाडी बढ्दैछ अहिलेको राजनीतिक माहोल ?

अब हेर्नुस, सबैलाई एकताबद्ध गराएर संविधानको कार्यान्वयन गर्ने पक्षमा नेपाली कांग्रेस छ । त्यसले गर्दा नेपाली कांग्रेसले जुन भूमिका खेलेको थियो, त्यसलाई अरु दलहरुले सहयोग गरेनन् । संविधान संशोधनको मुद्दा संसद्मा प्रस्तुत गर्दा एमाले लगायतले धोका दिए । त्यस्तै राजपाले पनि आफ्ना अडान कायम राखेर प्रदेश नं. २ निर्वाचन गर्नमा असहयोग गरिरहेको छ । यस अघि ६ प्रदेशमा निर्वाचन भइसकेकाले प्रदेश नं २ को निर्वाचन पनि संविधान संशोधन गरेर वा जे गरेर हुन्छ, सबैको अपनत्व हुने गरी, सबैलाई चुनावी प्रकृयामा ल्याउने गरी र सबैलाई मान्य हुनेगरी सम्पन्न गर्ने हिसाबले हामी प्रयास गरिरहेका छौँ । तर सहमति भएसकेको छैन ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन भएको पनि लामो समय भइसकेको छ । तर मन्त्री परिषद् विस्तार हुन सकेको छैन । यहाँले बुझे अनुसार सरकार विस्तार कसरी हुँदैछ ?

सरकार गठन हुँदाताका संविधान संशोधन पछि गर्ने भन्ने कुरा भएको थियो । तर यसका लागि दुइ तिहाई नपुग्ने भएका कारण अब यसलाई अहिलेलाई थाती राखेर सरकार विस्तार गर्नु पर्छ भन्ने मान्यतामा पार्टी सभापति तथा प्रधानमन्त्री लाग्नु भएको छ । उहाँले छलफल गरेर यसलाई टुङ्गोमा पुर्याउनु हुन्छ होला ।

सरकारमा राजपा लगायतका दलहरु आउने सम्भावना कत्तिको छ ?
सरकार छलफलमा छ । यसबाट केही निष्कर्ष निस्किन्छ । आशा गरौँ । उहाँहरु जानुहुन्छ ।

कांग्रेसको तर्फबाट सरकारमा जाने नाम मध्ये तपाईको पनि नाम रहेको छ भन्ने सुनिन्छ । के भन्नुहुन्छ ?

यसमा सबै जातवाती, समुदायको, धर्म संस्कृतिको प्रतिनिधित्व गराउनु पर्ने कर्तव्य प्रधानमन्त्रीको हो र पक्कैपनि मिलाउनु हन्छ भन्ने आशा छ । पार्टीका लागि लामो समयदेखि दिएको योगदान पार्टी तथा सभापतिले मुल्याङ्कन गर्नु पर्ने हो । यसमा आफ्नो मुल्याङ्कन आफैले आफैलाई गर्न मैले सक्दिन । जिम्मेवारी आयो भने सहजरुपमा सम्हाल्ने कुरा छँदै छ । युवा उमेरमा केही गर्ने जोश, जाँगर पनि छ । त्यसले गर्दा हामीलाई मौका दिइयो भने देशको विकासका लागि जिम्मेवारीपूर्ण ढङ्गले काम गर्न सकिन्छ ।

एउटा सांसद्को हैसियतले देशलाई निकास दिनका लागि अब के कस्ता राजनीतिक गतिविधि तथा सहमतिहरु कुन हिसाबले अगाडी बढाउनु पर्छ जस्तो लाग्छ ?

स्थानीय तहको एउटा प्रदेशमा निर्वाचन हुँन बाँकी नै छ । अन्य संघीय र संसदीय गरी दुईवटा निर्वाचन पनि सम्पन्न गर्नु छ । हामी अहिले जटिल मोडमा छौँ । छिटो भन्दा छिटो निर्वाचन गरेर हामी अगाडी बढ्नु पर्ने छ । त्यसैले गर्दा कांग्रेस तथा सरकारको काँधमा ठूलो जिम्मेवारी छ । केन्द्रिय देखि स्थानीय स्तरसम्मका कतिपय कामहरु गर्न बाँकी छन् । जटिलतालाई मध्य नजर गरेर सबै पार्टीहरु एक ठाउँमा आउनु जरुरी छ । त्यसका लागि हामी त्यसमा लागि परेका छौँ । संविधान कार्यान्वयन गरेरै छाड्छौँ भनेर हामीले प्रतिवद्धता गरेका छौँ ।