नेपाली कांग्रेसका युवा नेता गणेशबहादुर विष्टसंग गरिएको कुराकानी :


ADVERTISEMENT


एउटा प्रमुख प्रतिपक्षी दलको हिसाबले कांग्रेस अहिले कुन गतिले अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


नेपाल कम्युनिस्ट पार्टी अहिले साम्यवादी सत्ता स्थापना गर्ने कोशिस गरिरहेको छ । त्यसको लक्षण भनेको राजश्व अनुसन्धान विभाग लगायतका निकायहरु प्रधानमन्त्रीले आफ्नो मातहतमा लिनु भएको छ । सम्पत्ति सुद्धिकरण आयोग पनि उहाँले लिनुभयो । एउटा लोकतान्त्रिक देशको प्रधानमन्त्रीले ती निकाय आफ्नो नियन्त्रणमा लिनु हुँदैन । यी निकायहरु स्वतन्त्र हुन्छन् । त्यसकारण यो संकेत नै साम्यवादी संकेत हो । जुन नेपालमा कल्पना समेत गर्न सकिँदैन । विश्वपरिवेश र दक्षिण एशियामा समेत कम्युनिस्ट पतन भइरहेको बेलामा नेपालमा कम्युनिस्टहरुले शासन गरिरहेका छन् । यो बेलामा नेपाली कांग्रेसले ‘रियाक्टिभ’ भएर मात्रै हुँदैन, ‘प्रोएक्टिभ’ पनि हुनुपर्यो ।

नेपाली कांग्रेसको अबको योजना के ? शिक्षा स्वास्थ्यमा हाम्रो योजना के ? जनताको जीवनशैलीका बारेमा हाम्रो योजना के ? यो विषयमा निर्क्योल गर्नुपर्छ । अबको तीन वर्षपछि हामीले आफ्नो सरकार भएमा के गर्ने भन्ने बारेमा अहिलेदेखि नै रणनीति बनाउन थाल्नुपर्छ । अहिले कांग्रेसले जनजागरण अभियान थालेको छ । जुन एकदमै राम्रो छ । यसले जनतालाई कांग्रेससंग जोड्न राम्रो भूमिका खेलेको छ  । अझै यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्छ ।

अहिले कांग्रेसको राष्ट्रिय जागरण भन्दै नेता कार्यकर्ताहरुलाई जनताको घरदैलोमा पठाइएको छ । तपाईहरु जनताकहाँ गरिरहँदा के भनिरहको पाउनुहुन्छ ?

सरकारले भ्रष्टाचार बढाएको छ । महंगी बढाएको छ । सामाजिक हिंसा बढेको छ । प्रधानमन्त्रीले राज्यका सम्पूर्ण अंगहरु आफ्नो नियन्त्रणमा लिन खोजिरहनु भएको छ । यो कुरा जनतालाई मन पर्ने कुरै भएन । अहिले हामी संगठनको वृद्धि अभियानमा छौँ । राष्ट्रिय जागरण अभियान पनि त्यसकै अंग हो । पार्टी भित्र आन्तरिक एकता गरेर सरकारले गरेको गलत क्रियाकलापविरुद्ध बोल्नुका साथै कांग्रेस एउटा योजनाका साथ आउनुपर्थ्यो, अब आउने महाधिवेशनमा युवालाई नेतृत्व दिनुपर्छ भन्ने जनताको भनाई हो ।

कांग्रेसमा गुटउपगुट पूरानो रोग नै हो । यसलाई हटाउनका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

गुटउपगुट हट्ने भन्ने कुरामा त मलाई विश्वास छैन । कांग्रेस भनेको विभिन्न किसिमका मानिसहरु भएको एक वृहत्त पार्टी हो । पार्टीमा स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्छ । यदि त्यो भएन भने त्यहाँ लोकतन्त्र हुन सक्दैन । त्यसकारण कांग्रेसमा गुटउपगुट हुनु नराम्रो मान्दिनँ । किनकी यसले पनि शक्ति आर्जन गरेको हुन्छ । तर यसले पार्टीलाई नकारात्मक दिशातिर लैजान हुँदैन भन्ने मेरो मान्यता हो ।

उसो भए अबको नेतृत्व कस्तो आउनु पर्छ ?

पार्टीलाई बलियो बनाउने हो भने वर्तमान नेतृत्व सुध्रिनुपर्छ साथै नयाँलाई पनि मौका दिनुपर्छ । नेतृत्वको पनि नेतृत्व युवा हुनुपर्ने हामी माग गरौंला । तर, त्यो अहिले सम्भव छैन । त्यसकारण अहिलेको नेतृत्वले आफुमा सुधार ल्याउनै पर्छ । संकुचित सोचबाट मुक्त हुनुपर्छ ।

तपाई नेपाली कांग्रेसको युवा नेता हुनुहुन्छ । अबको व्यक्तिगत तयारी के छ ?

हरेक मान्छे महत्वकांक्षी अवश्य हुन्छ । तर, म आफ्नो भन्दा पनि साथीभाईसंग परामर्श गरेर अगाडि बढ्ने मान्छे हो । उहाँहरुको सल्लाह अनुसार नै अगाडि बढ्छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

केन्द्रीय इकाईदेखि स्थानीय नेताहरुसंग ठूलो भावना र सोच हुनुपर्यो । पार्टीमा अस्वस्थ गुटबन्दी गर्न भएन । पार्टीमा बारम्बार एकै जनाले भन्दा सबैले अवसर पाउनुपर्छ भन्ने खालको दृष्टिकोण हुनु आवश्यक छ । नातावाद, कृपावाद वा चाकरीवादले पार्टी अगाडि बढ्न सक्दैन । त्योबाट पार्टीको शीर्षस्थ नेतृत्वहरु बाहिर आउन सक्नुपर्छ ।