काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको छ।
काठमाडौंको खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको प्रतिवेदन पारित गरेको कांग्रेस सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए ।
केन्द्रीय समितिबाट पारित प्रतिवेदन आजै सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ। प्रतिवेदनमा आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको छ।
सभापति थापाको प्रतिवेदनमा पार्टीले विगतमा गरेका कामको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी गर्ने विषयसम्म समेटिएका छन्। त्यस्तै, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य तथा युवाको सहभागिता बढाउने विषयलाई पनि प्राथमिकता दिइएको छ।
‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई समेत प्रतिवेदनमा आगामी राजनीतिक यात्राको आधारका रूपमा अघि सारिएको छ।
यसैबीच, केन्द्रीय समिति बैठक खाना खाने प्रयोजनका लागि केही समयका लागि स्थगित गरिएको छ। सहमहामन्त्री बुढाका अनुसार खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुनेछ।
















