काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित शेर्पाले आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विद्यार्थी जीवनदेखि कांग्रेस राजनीतिमा सक्रिय शेर्पा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य हुन् । उनले जनजाति, युवा पुस्ता र खेलकुद क्षेत्रको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।

दुई दशकदेखि नेपाली फुटबलको विकासमा सक्रिय शेर्पा एन्फाका पूर्वअध्यक्ष तथा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्ष हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। विभिन्न क्लस्टर, भूगोल र समावेशी समूहबाट नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूह र क्लस्टरबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढेसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने अनुहारबारे पनि चासो बढेको छ।