काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको टिप्पणी गरेका छन् । भारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उनले हावाको भरमा नउफ्रिन सांसदहरुलाई आग्रहसमेत गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनु सरह हुने बताए । कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको उनले बताए ।


ADVERTISEMENT

# # #


 

प्रतिपक्षी मात्र नभई सत्तापक्षका सांसदले समेत विरोध गरेको भन्दै मन्त्री यावदले असन्तुष्टि जनाए ।  ‘प्रतिपक्ष रचनात्मक हुन्छ रे । यहाँ त पक्ष नै कस्तो न कस्तो देखियो । पक्षका साथीहरुले पनि कस्ता कस्ता प्रश्न उठाउन थाले ।’ उनले भने, ‘रचनात्मक हो कि ध्वंशकारी ? जिज्ञाशा राख्नु एउटा कुरा हो, उफ्रिनु अर्कै कुरा हो ।’

विपक्षीमा बस्यो वा कुर्सीमा जान पाएन भने अराजक बन्ने प्रवृत्तिले यसले देश निमार्ण गर्न नसक्ने उनको भनाई थियो । मन्त्री यादवले सांसदहरुलाई यथार्थमा टेकेर बहस गर्न र हावाको तलमा बोलेर तिललाई पहाड नबनाउन आग्रह गरे ।

यस्तै उनले विगतमा विदेशीका सामू झुक्ने बानी परेकाहरुले आज सरकारलाई झुक्यो भन्नु राम्रो नहुने बताए । मन्त्री यादवले भने, ‘आज हामीले बिगारिदिएको होइन । छैँदै छैन के विगार्नू ! अनि विदेशीको अगाडि झुक्यो रे ? जसको आफ्नै बानी छ झुक्ने, तिनीहरुले विदेशीको अगाडि झुक्यो भनिरहेका छन् ।’ उनले मुलुकको आवश्यकता अनुसार विदेशीसंग डिल गर्ने बताए ।

‘यो कुरामा तपाईहरु विश्वस्त हुनुस्, हामी कसैको दबाबमा पर्नेवाला छैनौँ । व्यवहारबाट के देखियो भने, हामी आफै नाकाबन्दी गर्नतिर गयौँ । भाउहरु बढ्न थाल्यो । त्यसकारण हल गरिएको हो ।’ उनले भने ।