काठमाडौं – सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सोमबार काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको कम्पनीले जनाएको छ।
यस्तै, आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिलाई समेत साधारणसभाले अनुमोदन गरेको छ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रार तथा डिम्याट खातालगायतका पूँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्तालाई पूँजी बजारमा सहज पहुँच पुर्याउने उद्देश्यले सिटिजन्स बैंकका देशभरका विभिन्न शाखामार्फत समेत आफ्ना सेवाहरू उपलब्ध गराउँदै आएको छ।
यसबाट विभिन्न क्षेत्रका लगानीकर्तालाई पूँजी बजार तथा व्यवस्थित लगानी सेवामा पहुँच विस्तार गर्नुका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कार विकासमा योगदान पुर्याउने कम्पनीको लक्ष्य रहेको छ।
सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।
















