बंगलादेशका लागि नेपाली राजदूतमा सिफारिस भएका वंशिधर मिश्रसंग गरिएको कुराकानी :

नयाँ जिम्मेवारी पाउनु भएको छ । कस्तो अनुभूति गरिरहनु भएको छ ?


ADVERTISEMENT

# # #


मसंग राज्यले दिएको जिम्मेवारी सांसद र राज्यमन्त्रीको हैसियतले कार्यसम्पादन गरेको एउटा अनुभव छ । यो परिस्थितमा अहिले एउटा नयाँ किसिमले राष्ट्रको सेवा गर्ने अवसरको रुपमा एउटा जिम्मेवारी पाएको छु । यसलाई राष्ट्रको हितमा सदुपयोग गर्ने एउटा अवसरका रुपमा लिएको छु । अब कुटनीति अभ्यासतर्फ आफूलाई कसरी निर्देशित गर्ने र बढीभन्दा बढी कसरी प्रभावकारी कामहरु गर्ने भन्नेतर्फ म प्रयास गर्दैछु । त्यसका लागि आफूलाई तयार पारिरहेको छु ।

अहिलको अवस्थामा नेपाल र बंगलादेशलाई कुन कुन आयामहरुमा जोड्न सकिन्छ ? एउटा राजदूतको रुपमा के योजना बनाउनु भएको छ ?

यो निकै महत्वपूर्ण प्रश्न हो । नेपाल र बंगलादेशको दूरी ३२ किलोमिटर मात्रैको छ । त्यस हिसाबले हाम्रो भारत र चीनपछि सबैभन्दा नजिकको छिमेकी देश हो । नेपाल जत्तिकै क्षेत्रफल भएपछि आर्थिक रुपमा बंगलादेश धेरै अगाडि रहेको छ । खाद्यान्नमा आत्मनिर्भरमात्र होइन, अनेक क्षेत्रमा चमत्कार गरिरहेको छ । बंगलादेशसंग सहकार्य गरेर त्यसबाट लाभ लिने कुरामा हामी ज्यादै न्यून स्तरमा रहेका छौँ । अर्को बंगलादेशमा डेढ करोड हिन्दुहरु रहेका छन् । तर, उनीहरुका आवतजावत नेपालमा भएको छैन । बंगलादेशबाट वार्षिक २०-३० हजार मात्रै आउँछन् । त्योपनि पर्यटक नभई विभिन्न कामले । यहाँनेर ठूलो कमजोरी भइरहेको छ ।

व्यापारमा सन् २०१४-१५ देखि नेपाल घाटामा छ । जबकी त्योभन्दा अघि हामी नाफामा थियौँ । गत वर्षको घाटामात्रै झण्डै ४ देखि ५ अर्ब रहेको छ । यो सबै अवस्थामा बंगलादेशसंगको सम्बन्धलाई अलि गम्भीरतापूर्वक ध्यान दिएर सरकारात्मक उचाईमा पुर्याउने र व्यापारमा पनि बढोत्तरी गरिनुपर्छ । त्यसका लागि ‘कनेक्टिभिटी’लाई विस्तार गर्नुपर्ने मैँले देखेको छु र यसलाई प्राथमिकतामा राखेको छु ।

अन्य योजनाहरु के के छन् ?

नेपाल सरकारले सिफारिस गरिसकेपछि संसदीय सुनुवाईमा एउटा प्रस्ताव नै पेश गर्नुपर्छ । त्यसमा आफ्नो योग्यता, क्षमता र भूमिका तथा सम्बन्धित देशको बारेमा सम्पूर्ण जानकारी राजदूत भएर गइसकेपछि गर्ने योजनाका लिखित रुपमै पेश गर्नुपर्छ । मैँले त्यसमा गृहकार्य गरेको पनि छु ।

हामीले बंगलादेशसंग दर्जर्नौँ कामहरु गर्नुपर्छ र सकिन्छ । अड्केका कतिपय कामहरु गर्नैपेर्न आवश्यकता महसुस गरेको छु । उदाहरणको रुपमाः बीबीआइएन (बंगलादेश, भुटान, इण्डिया र नेपाल) भन्ने संगठन छ । त्यसको तर्फबाट चारवटै देशमा बस चलाउने भनेर अगाडि बढेको सम्झौता अड्किएको छ । यसले जमिनदेखि जमिनबाट आउने कुराको लागि असहज बनाएको जस्तो देखिन्छ । यसलाई खुलाउनुपर्नेछ । यसले दोहोरो व्यापारलाई बढाउँछ । यस्ता विविध योजनाहरु छन् ।

राजदूतमा सिफारिस भइसकेपछि तपाईले संसदीय समितिमा चुरेसम्बन्धी एउटा प्रस्ताव राख्नु भएको थियो । जुन विवादित पनि बन्यो । खासमा के भन्न खोज्नुभएको थियो ?

मैँले एक प्रयास, तीन लाभको प्रस्ताव राखेको थिएँ ।  मान्छेले कुरा बुझ्न नसकेर त्यसमा विवाद गरे । मेरो स्पष्ट धारणा के छ भने चुरे पर्वत श्रृंखलालाई बचाउनु पर्छ । त्यो नाश हुँदा तराई चाँडै मरुभुमी हुने र तल बंगलादेश पनि डुब्ने । त्यसकाण चुरे संरक्षण गर्नका लागि चुरेमा भइरहेका बस्तीहरुलाई हटाउनु पर्छ । ती बस्ती त्यहीँ रहने हो भने तिनका लागि आवश्यक सुविधा जुटाउनु पर्छ । यदि ती सुविधा जुटाउँदा चुरे क्षेत्र मासिन्छ । अब उपाय के हो भने महाभारत श्रृंखलाका कतिपय पर्वतहरु काट्ने, चुरेमा भएका वस्तीहरुलाई त्यहाँ सार्ने । उनीहरुलाई चुरेको भन्दा दोब्बर ठाउँ र गुणस्तरीय सुविधा दिने । पहाड काटेर आएको ढुंगाहरु बंगलादेशलाई बेच्ने । चुरे संरक्षण, बस्ती विकास र अर्बौँको आम्दानी । यसरी हामी धेरै लाभ उठाउन सक्छौँ ।

अर्को उच्च शिक्षाका लागि भन्दै हजारौँको संख्यामा नेपाली विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् । उनीहरुले त्यहाँ विभिन्न किसिमका समस्याहरु झेल्दै आएका छन् । तिनीहरुको समाधान कसरी गर्नुहुन्छ ?

यसमा मेरो ध्यान पुगेको छ र गृहकार्य गरेको पनि छु । राजदूतावासले उहाँहरुलाई विशेष किसिमले अभिभावकत्व प्रदान गर्छ । मर्कामा परेका, ठगिएका नेपाली विद्यार्थीहरुलाई पूरै सहयोग गर्छ ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने गरी ‘भिजिट नेपाल २०२०’ को अभियान थालेको छ । बंगलादेशको जनसंख्या लगभग १७ करोड रहेको छ । जहाँ तपाई राजदूत भएर जाँदैहुनुहुन्छ । भ्रमण वर्षलाई सफल बनाउनका लागि के प्रयास गर्नुहुन्छ ?

१७ करोडमध्ये एक प्रतिशत मात्रै नेपाल ल्याउन सकेपनि भएपनि १७ लाख भयो । भ्रमण वर्षको कार्यक्रम त्यति प्रभावकारी हुन सकिरहेको छैन । अन्तिममा मात्रै तात्ने हाम्रो बानीले पनि बिग्रको हो । तर, मेरो तर्फबाट पर्यटक बढाउने प्रयास रहनेछ । बंगालेशका नागरिकले गर्ने नेपाल भ्रमणको संख्या हजारमा नभई लाखमा पुगोस् भन्ने मेरो विश्वास रहन्छ र त्यसका लागि नेपाली पर्यटकीय क्षेत्रको प्रचार प्रसार, धार्मिक पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने काम म गर्छु ।

राजनीतिक हिसाबले बंगलादेशसंगको कुटनीतिलाई कसरी अगाडि बढाउन सकिन्छ ?

हामीले बंगलादेशसंग घनिष्ठ सम्बन्ध राख्नुपर्छ । त्यसको विकल्प नै छैन । राजनीतिक रुपले हामी निटक त छँदैछौँ । अब त्यसलाई व्यवहारिक बनाउन जरुरी छ । जनता–जनताबीचको सम्बन्धलाई बलियो बनाउनु पर्यो । उच्चस्तरीय भ्रमणहरु अलि छिटो–छिटो गर्नुपर्यो । त्यसका लागि हामीले काम थाल्नुपर्छ ।

अन्तिममा, आफ्ना कार्यकाल सकाएर नेपाल फर्किँदै गर्दा नेपाल र बंगलादेशबीच कस्तो सम्बन्धको परिकल्पना गर्नुभएको छ ?

मैँले गुणात्मक र मात्रात्मक दुबै तरिकाले फड्को मार्ने योजना बनाएको छु । बंगलादेशसंगको हाम्रो सम्बन्धलाई बलियो र निर्वाध बनाउने, जनता–जनता स्तरको आदानप्रदान र भ्रमण गराउने र सरकारीस्तरमा पनि उच्च तहका भ्रमण गराउने कामहरु म अत्यन्त महत्वको साथ गर्नेछु । साथै बंगलादेशको रुचीमा रहेका र हामीले गर्नसक्ने जस्तोः जलस्रोतसम्बन्धी सम्झौता भएको छ ।

जलस्रोतमा उनीहरु अर्बौँ लगानी लगाउन चाहन्छन् । त्यसलाई हामीले सुनिश्चित गरेर त्यसबाट उत्पादन भएको बिजुली उनीहरुलाई नै बेच्ने सम्झौता पनि भएको छ । त्यसलाई सहजीकरण गर्नुपर्ने आवश्यकता छ । बंगलादेशमा भएका नेपाली समुदायलाई अभिभावकत्व प्रदान गर्ने, प्रविधिका कुराहरु सिकेर नेपाल भित्र्याउनेजस्ता तमाम कुराहरु म गर्छु । अहिलेसम्म कसैले नगरेका उल्लेखनीय कार्य मेरो कार्यकालमा हुनेछ भन्ने मैँले पूर्ण विश्वास लिएको छु ।

प्रतिकृया

प्रतिकृया