काठमाडौँ– मूर्तिकार रामकृष्ण भण्डारीले बूढानीलकण्ठको आठ वटा ढुङ्गाको मूर्ति बनाइसकेका छन् ।


ADVERTISEMENT


विसं २०५०–५१ मा पिता कुलमानसिंह भण्डारीसँग नारायणस्थान पुगेका रामकृष्णले १ देखि ३ फिटसम्मको बूढानीलकण्ठको मूर्ति बनाएका छन् । “सुरुमा बुवाले मूर्तिको स्केच तयार गर्नुभयो, त्यसपछि बुवासँगै मूर्ति बनाउन शुरु गरेँ, अब त सजिलैसँग मूर्ति बनाउँछु”रामकृष्णले भने ।


ADVERTISEMENT

# # #


काठमाडौँको उत्तरी भागमा शिवपुरीको फेदीमा बूढानीलकण्ठ नगरपालिकामा रहेको जलाशायी शेषनागका पाशमा रहेका बूढानीलकण्ठको मूर्ति शताब्दीको मानिन्छ । प्रस्तरमूर्तिको सो मूर्ति बाइस फिट लम्बा र १२ फिट चौडाको छ । नेपाली प्रस्तरमूर्तिमा यसभन्दा ठूलो अर्को मूर्ति छ्रैन । लिच्छविकालका राजा विष्णु गुप्ताले आफ्नो राज्यकालमा विसं ६९७ मा सो मूर्ति बनाएको बताइएको छ । प्रतापमल्लले हनुमानढोका र बालाजुमा पनि सो मूर्तिको प्रतिकृति बनाएका थिए ।

रामकृष्णले बनाएका मूर्ति नयाँ नैकाप भञ्जाङ, कीर्तिपुर ट्यांला फाँट शिवालय, नगाउँ, तीनथाना, रामेश्वर मन्दिर, ढुंगेअड्डा, चिरायु भण्डारी, तीनथाना, शिव राउत, तीनथाना, र तीर्थ प्रधान, टयांलाफाँटमा राखिएको छ भने एक मूर्ति उनको आफ्नै घरमा छ ।
शङ्ख,चक्र, गदा र पद्म(विगुतको डल्लो देखिने) सहितको सो मूर्ति बनाउन पहिले निकै समय लागे पनि पछि हात बस्दै गएपछि सजिलो भएको ५९ वर्षीय मूर्तिकार भण्डारी बताउँछन् ।
ती मूर्ति उनले रु १६ हजारदेखि ५० हजार पारिश्रमिक लिएर निर्माण गरेका हुन् । “मलाई बूढानीलकण्ठ मूर्ति बनाउन अझै मन लागेको छ, अब सानो आकार बनाउँछु होला, मुड चल्यो भने बनाइहाल्छु ”, उनले भने । भर्खरै मनाइएका नागपञ्चमीका बेलामा पनि उनले ‘अर्डर’ आएबमोजिम नागका दुइटा बनाएरबिक्री गरे ।

कुलमानसिंह र रामकृष्ण मन्दिर गएका बेला मूर्तिमा टेकेर पुजारी र भक्तजन हिँडेकाले डोब देखिएकाले त्यसले मूर्तिलाई बिगारेको उनको भनाइ छ । अहिले टाढैबाट मूर्तिको दर्शन र पूजा गर्नुपर्ने व्यवस्था गरिएको छ । “नागहरु सपनामा आउँथेँ, रुखका गुँडमा बसेका भङेरा र सारौँका बच्चा र अण्डा खान पनि सर्पहरु आउँथेँ, चराहरु कराएपछि सर्प आएको थाहा हुन्थ्यो” उनले आफ्नो सर्पसम्बन्धी अनुभव सुनाए।

उनले बूढानीलकण्ठ स्थानमै केही समय बसोबास गरेका खप्तड स्वामीका पनि पाँच मूर्ति बनाएका छन । “नारायण र भगवतीको मूर्ति त मैले आजै बनाएँ” यही साउन १६ गते रासससँग कुरा गर्दै रामकृष्णले बताए । हालसम्म राजनीतिक व्यक्तित्व र देवीदेवताका गरी हजारौँ मूर्ति बनाएका उनको जीविका तिनै मूर्ति बनाएर चलेको छ ।

“वास्तवमा म धार्मिक मान्छे होइन, तैपनि भगवान्ले नै मलाई पालेका छन्, यो मेरो जीवनको विरोधाभास पनि हो” कीर्तिपुर नगरपालिका–१०, चिठु निवासी मूर्तिकारले भने, घरखर्च नभएका बखत गणेशको मूर्ति बनाउँदा तुरुन्तै बिक्ने गरेको छ ।” कीर्तिपुर बाघभैरव, उमामहेश्वर, चिलञ्चो विहार, ल्होँ देवल, गणेश मन्दिर, महाङ्काल, बुद्धका अवतार, चिठु बहिली, शङ्खधर साख्वा, चार शहीद(राराहिल)लगायत मन्दिर, विहार र शालिकको क्षेत्र पनि हो । त्यहाँ रहेका धेरै धार्मिक मूर्तिमा पनि उनको छिनो परेको छ । कलाकारलाई बाँच्न गाह्रो नभएको उनको ४० वर्षको पेशागत अनुभव छ । श्याम रिमाल/रासस