काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई उचाल्न नहुने पनि स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका स्थायी समिति सदस्यद्धय देवेन्द्र पौडेल र आनन्द कुमार पोखरेलले नेकपा विचार केन्द्रित पार्टी भएकोले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको जिकिर गरे । नेता पौडेलले पार्टीभित्र भएका विचार तथा बहसहरु आन्तरिक रुपमा हल गर्न सकिने विषय भएको सुनाए । उनले भने, ‘हाम्रो पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होईनन् । आन्तरिक रुपमा हामी हल गर्छौं ।’


ADVERTISEMENT

# # #


पौडेलले पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीका साथ अघि बढ्ने विश्वास दिलाए । उनले पार्टी जनमतअनुरुप अघि बढ्ने बताए । उनले पार्टीभित्र आन्तरिक विवाद भयानक नै भयो भन्ने बाहिरी हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि सिंगापुर गएको र यो बीचमा महत्वपूर्ण निर्णयहरु भएका पनि उनले सुनाए ।

उनले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ को प्रसँगमा पनि पार्टी पद्धतीअनुसार चल्नुपर्छ भन्ने कुरा पार्टीको सम्पत्तिको रुपमा रहने बताए । उनले भने, ‘माधव कुमार नेपालले जुन रुपमा नोट अफ डिसेन्ट राख्नुभएको छ, त्यो राख्न पाउनुपर्छ । तर, पार्टीले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ ।’

अर्का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द कुमार पोखरेलले सिंगो कम्युनिष्ट आन्दोलनभित्र मतभेद, विभेद रहँदै आएको सुनाउँदै अहिले पार्टीभित्र भएको छलफल तथा बहसलाई ठूलो रुपमा लिन नहुने स्पष्ट पारे । उनले तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुवैबीच लक्ष्यमा भीन्नता नभएको पनि सुनाए ।

उनले कम्युनिष्ट आन्दोलनमा सानातिना बहस तथा छलफल हुनु स्वभाविक र सामान्य विषय भएकोले अहिलेपनि पार्टीभित्रको बहस र छलफलले यति धेरै चर्चा पाउनुपर्ने विषय नै नभएको जिकिर गरे । ‘बैठकमा माधव नेपालले नोट अफ डिसेन्ट राख्नुभयो, यसलाई हाउगुजी बनाईयो, यसमा अतिशोयुक्ति प्रचार भयो ।’ उनले भने, ‘माधव नेपाल १५ वर्ष पार्टीको नेतृत्व गरेको नेता हुनुहुन्छ, उहाँले पार्टीभित्र राखेको नोट अफ डिसेन्ट हाम्रो सम्पत्ति हो । ।’

उनले साउन २४ गते यता मुलुकभित्र सहमतिको राजनीति सुरु भएको पनि सुनाए । शान्ति प्रक्रियाका महत्वपूर्ण काम पूरा गर्नको लागि प्रमुख दलहरुबीच सहमति बनेको र सोहीअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्नेदेखि लिएर प्रधानमन्त्री नहुँदापनि मन्त्रिपरिषद बैठक बस्ने, अर्को अध्यक्षले बैठकको अध्यक्षता गरेर एकताका बाँकी काम पूरा गर्नेलगायतका सकारात्मक कुराहरु अघि बढेको उनले सुनाए ।

पोखरेलले तत्काल अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेर एकताका काम पूरा गर्नुपर्ने सुझाव दिए । पार्टीभित्रको विवादलाई अब चर्काउन नहुने उनको धारणा छ । उनले नेताहरु एक ठाउँमा आउनुपर्ने र घोषणापत्रमा प्रतिबद्धता जनाएअनुसार अघि बढ्नुपर्ने बताए ।