काठमाडौँ– कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ ।


ADVERTISEMENT


करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प प्रतिरोधात्मक र बलियो भवन निर्माणका लागि गृहकार्य गरिरहेको हो । विसं २०७२ को भूकम्पमा ठूलो धनजनको क्षति भएको सो नगरपालिकामा प्राचीन बस्ती छन् ।


ADVERTISEMENT

# # #


नगरपालिकाले प्राविधिक सहयोग र थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सहयोग मागेको छ । प्राधिकरणका प्राविधिकलगायत समूहले सुक्ष्म अध्ययन गरेपछि उक्त स्थान उचित ठहरिएमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ ।

परियोजनामा के कति लागतमा, कति क्षेत्रफलमा कस्तो स्वरुपको भवन निर्माण गरी कति परिवारलाई स्थापित गर्न सकिन्छ भन्नेबारे उल्लेख गरिनेछ । त्यसपछि विज्ञको सुझावसहित स्रोत संकलनका उपाय अवलम्बन गरी गुरुयोजना निर्माण गरिने नगरप्रमुख रमेश महर्जनले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०६८ अनुसार करिब ६५ हजार जनसंख्या रहेको उक्त नगरपालिकामा १४.७६ वर्गकिलोमिटर क्षेत्रफल छ । कुल १० वडा रहेको त्यस क्षेत्रमा प्राचीन महत्वका मठमन्दिर, सम्पदा तथा स्मारक छन् ।

नगरपालिकामा स्थानीयका भत्किएका घर पुनःनिर्माणका लागि सहयोग गर्ने उद्देश्यले पुनःनिर्माण तथा विपद् व्यवस्थापन समिति समेत गठन गरिएको छ ।