काठमाडौँ – श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कपको आफ्नो अन्तिम खेलमा नेपालले शानदार जित हात पारेको छ । मंगलबार नेपालले युनाइटेट अरब इमिरेट्स (युएई)लाई १६० रनको फराकिलो अन्तरले हराएको हो ।


ADVERTISEMENT


टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २८५ रन बनाएको को थियो । २८६ रनको विशाल लक्ष्य पच्छ्याएको युएईलाई नेपालले १२५ रनमा नै अलआउट गरेपछि सहज जित हात पारेको हो । युएईले ३४.४ ओभर खेल्दा सबै विकेट गुमायो । नेपालका बलर चम्किएपछि युएई सस्तैमा समेटिएको हो ।


ADVERTISEMENT

# # #


युएईका लागि भृत्या अरबिन्द रुदरेवलले सर्वाधिक २८ रन हाने । यस्तै अल्सान सराफुले २१, ओसामा हसनले १६, सेयद हैदरले १५ र अंशले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि सागर ढकाल र सूर्य तामाङले घातक बलिङ गरे । सागरले ७ ओभरमा २ मेडेन राख्दै २० रन खर्चिएर ३ विकेट लिए । यस्तै सूर्यले ७ ओभरमा एक मेडेन राख्दै १८ रन खर्चिएर २ विकेट लिए । पवन सर्राफ र राशिद खानका नाममा पनि समान २–२ विकेट नै रह्यो । कमलसिंह ऐरीले एक विकेट लिए ।

यसअघि नेपालको सुरुवात राम्रो हुन सकेन । पहिलो ८ रन जाड्दा रित गौत र पवन सर्राफलाई गुमाएको नेपालका लागि आशिफ शेख र कप्तान रोहित कुमार पौडेलले उकासे । उनीहरुले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । त्यसक्रममा आशिफले ५४ बलमा ८ चौकासहित ४५ रन जोडे ।

त्यसपछि रोहितले सन्दीप जोरासंग मिलेर अर्को ८५ रनको साझेदारी गरेपनि नेपाल राम्रो स्कोरतर्फ लम्किएको थियो । रोहितले आउट हुनुअघि ८३ बलमा ८ चौका र एक छक्काको मदतमा ६७ रन हाने । यस्तै सन्दीपले ५३ बलमा ६ चौकासहित ४८ रन बनाए ।

रोहितलाई चौथो र सन्दीपलाई छैर्टौँ विकेटका रुपमा गुमाउँदा नेपालको स्कोर ३६.१ ओभरमा १८१ ६ रहेको थियो । भीम सार्की एक रनमा आउट भए । त्यसपछि आएका मल्लले २१ बलमा २२ रन हाने । त्यसक्रममा उनले २ छक्का र एक चौका प्रहार गरे ।

त्यसपछि आएका राशिद खान र कमलसिंह ऐरीले नेपाललाई विशाल स्कोरतर्फ पुर्याउन आक्रमक साझेदारी गरे । उनीहरुले ४९ बलमा ७० रन बनाए । त्यसक्रममा राशिद खानले ४६ बलमा पाच चौक र एक छक्कासहित ४४ रन बनाए । यस्तै कमलसिंह ऐरीले २५ बलमा नै ४१ रन बनाउँदा ५ चौका र २ छक्का ठोके ।

सागर ढकाल २ रनमा नटआउट रहे । युएईका लागि मोहम्मद आकाश ताहिर र सन्चित शर्माले समान ३-३ विकेट लिए । यस्तै कार्तिक पलानिप्पनले २ विकेट लिँदा रिसभ मुखर्जीले १ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि विश्वकप छनोटमा ब्यहोरेको पराजयको नेपालले बदला लिएको छ । वर्षाका कारण एक रनले हार्दै नेपाल सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू १९ विश्कप खेल्नबाट बञ्चित भएको थियो ।