काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बुधबार)बस्दैछ। दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।


ADVERTISEMENT


उनका अनुसार आजको बैठकले छ वटा महानगर, प्रवास कमिटी र आयोगहरुको टुंगो लगाउन सक्ने सम्भावना छ।


ADVERTISEMENT

# # #


नेकपाका नेताहरूबीच भएको अनौपचारिक सहमतिअनुसार छ महानगरमध्ये काठमाडौं, विराटनगर, पोखरा, भरतपुर पूर्वएमाले ललितपुर र वीरगञ्ज महानगरपालिकाको नेतृत्व पूर्वमाओवादीको भागमा पर्ने सम्भावना छ।

यस्तै प्रवास कमिटीको इन्चार्ज केन्द्रीय सदस्य विन्दा पाण्डे र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरू युवराज कार्की र युवराज चौलागाईंलाई दिने तयारी नेकपा नेतृत्वको छ।

आजैको बैठकले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको नेतृत्व पनि टुंगो लगाउनेछ।

सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष, सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल बसेर पार्टी एकताका बाँकी काम टुंगो लगाउने तयारी थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना ठूलो बुवाको निधन भएपछि चितवन जान परेकाले सो छलफल भने हुन सकेको थिएन।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि पहिलो पटक नेकपा सचिवालय बैठक बस्न लागेको हो।

प्रधानमन्त्री सिंगापुर जानुअघि भएको सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीबीच बाझाबाझ भएको थियो।