काठमाडौं – नेपाली कांग्रेसले बिहीबार बाँकेमा भएको घटनालाई प्रवृत्तिको रुपमा चित्रण गर्दै त्यसविरुद्ध आन्दोलन घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिको नेतृत्वमा शनिबार ८ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । “नेकपाको गढबाट दर्जनभन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेपछि तिल्मिलाएको नेकपाले जागरण अभियानमा आक्रमण गरेको हो,” शर्माले भने ।


ADVERTISEMENT

# # #


भोलि नै सभापति शेरबहादुर देउवा बाँके जाने भएका छन् । त्यसैगरी कांग्रेसले घटनाको विरोधमा भोलि दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । घटनाको विरोधमा आज नेपालगन्जमा कांग्रेसले प्रदर्शन गरेको छ ।

बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।