काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुले यस्तो आग्रह गरेका हुन् । नेविसंघका नेता तथा परराष्ट्र मामिलाका जानकार डम्बर सुनारले पार्टी नेतृत्वको विरुद्धमा अनावश्यक जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यदि पार्टी नेतृत्वले केही कमिकमजोरी गरेको नै भएपनि पार्टीभित्र सही सुझाव दिन सकिन्छ, तर मिडियामा हल्ला गरेर र ठूलो स्वरमा बोलेर होईन । यसले राम्रो सन्देश जाँदैन्।’ सुनारले युवाहरुको भावनालाई समेट्ने पार्टी नेतृत्व सक्षम रहेको विश्वास दिलाए ।

उनले पार्टी नेतृत्वलाई गाली गरेर कसैलाई पनि फाईदा नहुने जिकिर गरे । उनले थपे, ‘सभापतिलगायत अहिलेको हाम्रो पार्टी नेतृत्वपंक्ती विद्यार्थी आन्दोलनबाटै आउनुभएको हो, उहाँहरुले त्यही धरातलबाट आएर मुलुकको बागडोर सम्हालिसक्नुभएको छ। त्यसैले उहाँहरुले नेविसंघका मर्म र भावनालाई राम्रोसँग बुझ्नुभएको छ । उहाँहरुभन्दा अरुले हाम्रो भावनालाई बुझ्न सक्नुहुन्न । त्यसैले उहाँहरुको बारेमा जथाभावी टिप्पणी गर्नु हुँदैन् ।’ पार्टी सभापतिविरुद्ध जथाभावी बोल्ने झुण्डलाई कारबाही गर्नुपर्ने माग गरे । उनले बाँके कांग्रेस सभापति किरण कोइरालामाथि सत्तारुढ दल नेकपाका कार्यकर्ताले गरेको आक्रमणको समेत कडा निन्दा गरे ।

त्यस्तै, नेविसंघकी निवर्तमान केन्द्रिय सदस्य सम्झना खत्रीले नेविसंघभित्र गुट हुनुहुँदैन भनेर ठूलो स्वरमा बोल्नेहरुले नै अहिलेपनि गुटको राजनीति गरिरहेको आरोप लगाईन् । उनले भनिन्, ‘नेविसंघमा जो गुट हुनुहुँदैन् भनेर बोलिरहेको छन्, आज उनीहरुले नै व्यवहारमा गुटको राजनीति गरिरहेका छन् ।’उनले नेविसंघ युवाहरुको काँधमै सुम्पिनुपर्ने बताईन् । उनले भनिन्,‘३२ वर्षे उमेर हद कायम गरेर योग्य र सक्षम नेतृत्व ल्याउनुपर्छ ।’

त्यस्तै उनले भागबण्डाबाट मात्रै सबै कुरा प्राप्त गर्न खोज्ने झुण्डहरुले नै सभापति देउवालगायतका नेतृत्वविरुद्ध नकारात्मक कुरा बोल्ने गरेको गुनासो पोखिन् । उनले भनिन्,‘निर्वाचित पार्टी सभापतिविरुद्ध जभाभावी बोल्नेलाई पार्टीले अनुशासनको कारबाही गर्नुपर्छ । भागबण्डाको नाममा समानान्तर कमिटी चलाउने प्रवृत्ति गलत हो ।’

नेविसंघका अर्का नेता लोकेश आचार्यले पार्टी सभापतिविरुद्ध बोल्ने नेविसंघका नेताहरुलाई झुण्ड र अराजक समूहको संज्ञा दिएका छन् । उनले सभापतिविरुद्ध जथाभावी बोल्नेविरुद्ध आफूहरु जाईलाग्ने चेतावनी दिए । उनले भने, ‘हामी ती झुण्ड समूहलाई ईटको जवाफ पत्थरले दिन्छौं । हलो अड्काउने गोरु चुट्ने काम नगरौं ।’

नेविसंघका अर्का नेता आदर्श मल्लले नेविसंघका सबै नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको दायराभित्र रहन आग्रह गरे । उनले सभापतिविरुद्ध जथाभावी बोल्ने समूहलाई कुहिएको आलुको संज्ञा दिए ।

प्रतिकृया

प्रतिकृया