काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको मर्म र भावनाविपरित चलेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन सम्बोधन गर्दै उनले नेपालगन्जमा काँग्रेसका कार्यकर्तामाथि आक्रमण भएको भन्दै यसले राज्य आतंकमा सरकार आफै लागिरहेको बताए । स्वतन्त्र रुपमा बोल्न पाउने र सभा आयोजना गर्न पाउने अधिकारका लागि राणा, पञ्चायत र राजालाई हटाएको गरेको भन्दै उनले भने, ‘तिनै अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाले सभा गर्न खोज्दा नेकपाका कार्यकर्ता परेर हात भाँच्ने कार्य भएको छ । यसैका लागि लडेको हो हामीहरु ?’


ADVERTISEMENT

# # #


संविधानले दिएको स्वतन्त्रा उपयोग गर्न खोज्दा आक्रमण भएको भन्दै उनले यस्तै कार्य जारी रहे प्रजातन्त्रको लागि फेरि लड्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए । उनले जनताको करबाट तलव र सुविधा लिने प्रहरी र कर्मचारीलाई समेत सरकारले पार्टीका कार्यकर्ता बनाएको बताए ।

‘सरकारी कर्मचारी कुनै पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्ष्यम्य अपराध हो’ कांग्रेस सभापति देउवाले संसदमा भने, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’ महँगी अत्याधिक बढेको भन्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहान्छु के तपाईँलाई बजार भाउ थाहा छैन ?’

उनले वर्तमान सरकार गठन भएको डेढ वर्षसम्म पनि संविधानको मर्म र भावना अनुसार चल्न नसक्दा संविधान नै असफल हुनु दुखद कुरा भएको पनि बताए । अहिलेकै सरकारको पालामा वाइडबडी काण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्डजस्ता ठूला भ्रष्टाचारका घटना भएको भन्दै उनले सिंगो राज्य संरचना नै भ्रष्टीकरण भएको दाबी लगाए । उनले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा उन्मुक्ति दिनुहुन्न छानबिन गर्नुपर्छ । त्यसका लागि प्रतिपक्षको साथ छ ।’

जनताको मौलिक हकलाई बन्देज गराउने र आस्थाका आधारमा भेदभाव गर्ने काम सरकारले गरेको पनि उनले बताए । सीमामा भारतीय पक्षले बनाएका बाँधले वर्षेनी तराईबासी डुबानमा परेको भन्दै उनले सरकारलाई भारतसंग कुटनीतिक छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताए ।