काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले ‘नेकपा सरकारका काण्डै काण्ड’ नामक पुस्तिका सार्वजनिक गरेका छन् । उक्त पुस्तिकाको सोमबार कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला लगायतले विमोचन गरेका हुन् ।


ADVERTISEMENT


पुस्तिका सार्वजनिक गर्दै सभापति देउवाले सरकार राज्यका सबै संयन्त्रहरू आफ्नो हातमा लिएर सर्वसत्तावाद मार्फत कम्युनिस्ट अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । सर्वसत्तावादको खिलाफमा जनमत तयार गर्न महरको पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै महामन्त्री शशांक कोइरालाले सरकारलाई बुझ्न नेता महरले लेखेको पुस्तक पढ्दा पर्याप्त जानकारी हुने बताए । पुस्तकले प्रजातन्त्रको पक्षमा माहोल सिर्जना गर्नसमेत भूमिका खेल्ने उनले बताए ।

पुस्तिकाका लेखक महरले १८ महिनामा केपी शर्माओली नेतृत्वको नेकपा सरकारले गरेका दर्जनौँ काण्ड उक्त पुस्तिकामा समावेश गरिएको बताए । पुस्तिकामा वर्तमान सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाइ काण्ड, भ्रष्टाचर काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, बजेट काण्डलगायत एक सय २० बढी सरकारका जनविरोधि काण्ड समेटिएको महरको भनाई छ ।