काठमाडौं – दशै, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरेका छन् । उनले भने, ‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’


ADVERTISEMENT

# # #


उनले काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे । उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए । नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए । उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए । तोकिएको भन्दा बढि भाडा लिनेलाई कानुनअनुसार कडा कारबाही हुने पनि उनले चेतावनी दिए ।

यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले भने, ‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्नेगरि गृहकार्यमा जुटेका छौं ।’

उनले यसपटक आफूहरुले अनलाईनमार्फत टिकट बुकिङ गर्ने अपेक्षा गरेपनि अन्तिम समयमा आएर त्यस्तो व्यवस्था गर्न नसकेको सुनाए । उनले भने, ‘अनलाईनमार्फत बुकिङ हुनुपर्दथ्यो, तर लाईन बस्नु पर्यो त्यो दुर्भाग्य हो । यातायातमा मात्रै होईन, सबै क्षेत्रमा यही बेतिथि छ, हामीले यो प्रथाको अन्त्य गर्नुपर्छ ।’

उनले सडकको स्तरोन्नती गर्नतर्फ सरकारको ध्यानाकार्षण गराए । सिटौलाले भने, ‘सडकको बारेमा कसले बोल्ने ? गाउँका सडकको त कुरै छोडौं, यहीँ काठमाडौंका सडकको बारेमा कुरा गरौं, सामाखुशीबाट टोखा जाने सडक हिँड्न सक्ने अवस्थामा छैन् ।’ सिटौलाले टिकमा कुनै समस्या नभएको पनि जिकिर गरे । उनकाअनुसार १२ गते घट्स्थापनादेखि फुलपातीसम्म काठमाडौं उपत्यका बाहिर जाने यात्रुको आँधीबेहरी नै आउँछ ।

उनले यात्रुको चापलाई हेरेर आफूहरुले सोहीअनुसारको यातायात व्यवस्थापन गरेको सुनाए । यात्रुहरुलाई दुःख र मार नपरोस भनेर आफूहरु असाध्यै खटेको पनि उनले स्पष्ट पारे ।