धादिङ – नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

धादिङ जिल्लामा विकास प्रेती नेता र स्पष्ट वक्ताको रुपमा परिचित ढुंगानाको उम्मेदवारीलाई चासोको साथ हेरिएको छ । नगरपालिका संघका अध्यक्ष समेत रहेका ढुंगाना देशभर परिचित व्यक्ती हुन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । जारी महाधिवेशन अन्तर्गत ढुंगानाले केन्द्रीय सदस्य खुलामा उनले उम्मेदवारी घोषणा गरेका हुन् । नेतृत्व तहमा ढुंगानाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने बताए । ढुंगाना २०७४ सालमा नीलकण्ठ नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएको थियो। पहिलो कार्यकालमा नेपाल नगरपालिका संघको महासचिवको जिम्मेवारी सम्हालेका उनी २०७९ मा दोस्रो कार्यकालका लागि नगर प्रमुख निर्वाचित भएपछि नेपाल नगरपालिका संघको अध्यक्ष बनेका हुन् ।

स्थानीय तहको नेतृत्वसँगै संघीय शासन प्रणाली, स्थानीय सरकारको अधिकार, वित्तीय तथा प्रशासनिक संघीयता र स्थानीय तहका साझा सवाललाई राष्ट्रिय बहसमा उठाउँदै आएका ढुंगानाको सार्वजनिक भूमिकाको अर्को महत्वपूर्ण पाटो नगरपालिका संघको नेतृत्व हो। राजनीतिमा उनको अर्को विशेषता स्थानीय तहको प्रत्यक्ष जनसम्पर्कसँग जोडिएको अनुभवका रूपमा देखिन्छ।

उनको नेतृत्वमा नीलकण्ठ नगरपालिकालाई विभिन्न विधामा उत्कृष्ट बनाएको थियो । नगर प्रमुखका रूपमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा स्थानीय सरकारका सवालमा काम गर्दै आउनु भएका ढुंगानाले स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित गर्ने विषयमा जोड दिँदै आएका छन् ।