काठमाडौं – नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

पत्रकारिताबाट राजनीतिको मूलधारमा प्रवेश गरेका शिवाकोटीले अब पार्टीको नेतृत्व तहमा थप जिम्मेवारी लिएर अघि बढ्ने आकांक्षा राखेका हुन्। दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका शिवाकोटी १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि पार्टीको संगठनात्मक गतिविधिसँगै विचार, इतिहास र दस्तावेज संरक्षणका क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।

सहमहामन्त्रीको दाबीसँगै शिवाकोटीले राजनीतिमा व्यक्तिको वृत्ति विकास पनि आवश्यक रहेको बताउँदै आएका छन्। आफ्नो लामो राजनीतिक तथा पत्रकारिता अनुभवलाई पार्टी संगठन र नीतिनिर्माणमा उपयोग गर्ने उनको तयारी छ।

शिवाकोटीको राजनीतिक पृष्ठभूमिभन्दा फरक परिचय उनको पत्रकारिता हो। दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताएका उनले भ्रष्टाचार, सुशासन र अनियमितताका विषयमा खोजमूलक रिपोर्टिङ गरेका थिए। रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान, इमेज एफएमलगायत सञ्चारमाध्यममा काम गरेका उनी हाम्राकुरा डटकमका संस्थापक निर्देशक तथा प्रधानसम्पादक समेत हुन्।

पत्रकारिताकै क्रममा उनले तत्कालीन सभामुख कृष्णबहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित चर्चित प्रकरणको रिपोर्टिङ गरेका थिए। पत्रकारितामा रहँदा २०६२/६३ को जनआन्दोलन, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक आन्दोलनका विषयमा पनि उनी सक्रिय थिए। पत्रकारिता छाडेर पूर्णकालीन राजनीतिमा आएपछि भने उनले आफूले पत्रकारितामा उठाउँदै आएका सुशासन, पारदर्शिता र जवाफदेहिताका मुद्दालाई राजनीतिक भूमिकामार्फत अघि बढाउने बताउँदै आएका छन्।

केन्द्रीय सदस्यका रूपमा शिवाकोटीले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको नेतृत्व गरेका थिए। कांग्रेसको इतिहास, विचार र राजनीतिक गतिविधिसँग सम्बन्धित सामग्री संरक्षण गर्नुपर्ने भन्दै उनले पुस्तक तथा दस्तावेज संकलनको अभियान अघि बढाएका थिए।

कांग्रेस पार्टी कार्यालयमा भएको आगलागीमा महत्वपूर्ण पुस्तक, दस्तावेज तथा ऐतिहासिक सामग्री नष्ट भएपछि अभिलेखीकरणको आवश्यकता झनै बढेको उनको धारणा छ।

आफ्ना हजुरबुबा तथा प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको संघर्षलाई पुस्तकमार्फत सार्वजनिक गरेका उनले अन्य प्रजातन्त्र सेनानीको योगदानलाई समेत दस्तावेजीकरण गर्ने प्रयास गरिरहेका छन्। यसका लागि उनले स्थापना गरेको नन्दप्रसाद जानुका फाउन्डेसनले तीनवटा पुस्तक प्रकाशन गरिसकेको छ। पछिल्लो पटक ‘दोलखाका लोकनायकहरू’ पुस्तक सार्वजनिक गरिएको थियो।

शिवाकोटीले कांग्रेसको संगठनलाई नयाँ पुस्तासँग जोड्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाउँदै आएका छन्। विशेषगरी जेन–जी पुस्ताको अपेक्षा र राजनीतिक भावनालाई कांग्रेसले बुझ्नुपर्ने उनको धारणा छ। युवालाई पार्टीको निर्णय प्रक्रिया र नेतृत्वमा अर्थपूर्ण रूपमा सहभागी गराउँदै कांग्रेसलाई समयअनुकूल परिवर्तन गर्नुपर्नेमा उनले जोड दिँदै आएका छन्।

केन्द्रीय सदस्यका रूपमा शिवाकोटी विभिन्न जिल्लामा पार्टीका अभियान, प्रशिक्षण तथा संगठनात्मक कार्यक्रममा सहभागी हुँदै आएका छन्। निर्वाचनका क्रममा पार्टीको प्रचारप्रसार तथा प्रशिक्षणमा समेत सक्रिय रहँदै आएका उनले स्थानीय तहदेखि नै संगठन बलियो बनाउनुपर्ने धारणा राख्छन्।

राजनीतिसँगै उनी सामाजिक अभियानमा पनि सहभागी छन्। २०८० सालको जाजरकोट भूकम्पपछि रुकुम पश्चिमको आठबिसकोटमा अस्थायी आवास निर्माण अभियानमा सहभागी भएर ५० वटा अस्थायी आवास निर्माण तथा हस्तान्तरणमा योगदान गरेका थिए। पत्रकारिताको योगदानका लागि शिवाकोटी प्रबल जनसेवाश्री, ईन्जा अवार्ड, रोटरी जर्नो अवार्ड र देशतीर्थ पत्रकारिता पुरस्कारलगायतबाट सम्मानित भएका छन्।

यसरी पत्रकारितामा खोजी र खबरदारीको अनुभव, पार्टी संगठनको अभ्यास तथा इतिहास संरक्षणको अभियानलाई राजनीतिक यात्रासँग जोड्दै आएका शिवाकोटीले अब कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्रीको जिम्मेवारी खोजेका छन्। औपचारिक उम्मेदवारी दर्तापछि उनको प्रतिस्पर्धा थप स्पष्ट हुनेछ।